जेठ ४, काठमाडौं ।
कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा मानिसको मृत्यु समेत भएपछि सरकार शतर्क भएको छ । योसँगै कोभिड रोकथामसम्बन्धी संयन्त्रको बैठक बसेर लकडाउन थप्नेबारे संशोधित मोडालिटीसहितको सिफारिश हुने भएको छ । विश्वस्त स्रोतका अनुसार अब लकडाउन झन् कडा हुने भएको छ ।
५ जेठबाट पुनः कम्तिमा १० दिन लकडाउन थप्ने गरी तयारी भएको स्रोतले जानकारी दियो । जेठ महिना निकै जोखिमले भरिएको रिपोर्टहरु आएपछि सरकारले लकडाउन कडाईका साथ थप्न लागेको हो ।
लकडाउन लम्ब्याउने र मोडालिटीबारे संयन्त्रले सुझावहरु संकलन गरिसकेको छ । चारवटै सुरक्षा निकायका प्रमुख देखि स्वास्थ्य मन्त्रालय, आपूर्ति मन्त्रालयलगायतका अधिकारीहरुको राय संकलन गरेर अबको योजनाबारे थप निर्णय लिन लागिएको बुझिएको छ ।
कोरोना भाइरसको रोकथाममा सेना समेत परिचालन हुन थालेका छन् । हिजो कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको शव दाहसंस्कार गर्न पशुपति आर्यघाट लगिदा सेना समेत सुरक्षाका लागि खटिएको थियो । अब आवश्यकता अनुसार सेना पनि परिचालन गर्ने तयारी भएको स्रोतले जानकारी दियो ।
विश्वस्त स्रोतका अनुसार अब काठमाडौं उपत्यका छिर्ने मुख्य नाकाहरुमा नेपाली सेनालाई समेत समावेश गरी कडाई गरिने तयारी भएको छ । चारवटै सुरक्षा निकायलाई स्वास्थ्यकर्मी र स्थानीय निकायका जनप्रतिनिधिसँग समन्वय गरी खटाइने योजना बनाइएको छ ।
कोरोना भाइरसको संक्रमित संख्या ह्वात्तै बढेपछि र एकजनाको मृत्यु पनि भइसकेको अवस्थामा सरकारले झन् कडा नीति लिन लागेको हो । यसपटक कम्तिमा १५ जेठसम्म लकडाउन थपिने तयारी भएको छ । संयन्त्रको बैठक बसेर सिफारिश गर्ने र मन्त्रिपरिषद बैठक बसेर सम्भवत आजै निर्णय लिने बुझिएको छ ।
सरकारले लकडाउन कडाई गर्न यसअघि वितरित सबै पास रद्द गरिसकेको छ । निश्चित क्षेत्र तोकी आधिकारिक परिचयपत्र विना सवारी साधन गुड्न निषेध गरिएको छ । उपत्यकाभित्र पैदल समेत भित्रन निषेध गरिएको छ ।
संक्रमण समुदायसम्म फैलिएपछि गृह मन्त्रालय कडा रुपमा प्रस्तुत भइसकेको छ । अत्यावश्यक सेवाका सवारीलाई पास चाहिंदैन । तर, ती सवारीमा यात्रा गर्ने सबैले अनिवार्य आधिकारिक परिचयपत्र लिनुपर्नेछ । योसँगै सडक सुनसान हुन थालिसकेको छ । रिपोर्टर्स नेपाल