एजेन्सी । चीनमा फेरि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा शुक्रबार यता नयाँ संक्रमित भेटिएका हुन् ।
हिजो ६ जना नयाँ संक्रमित भेटिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि शनिबार ८ जना र शुक्रबार ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
गत अप्रिल ३ यता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएको चीनमा शुक्रबारदेखि पुनः संक्रमण देखिन थालेको हो । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या ८२ हजार ९४७ पुगेको छ ।
चीनमा अहिलेसम्म ७८ हजार २२७ जना संक्रमण मुक्त भएका छन् भने ८७ जना संक्रमितको उपचार भइरहेको छ ।
कोरोनाको उद्भव मानिएको चीनको वुहानमा गत वर्षको डिसेम्बर ३१ देखि संक्रमण फैलिएको थियो ।