तानसेन। आलुमा आत्मनिर्भर गराउने ध्येयले पाल्पाको रिब्दीकोट गाउँपालिकाले किसानले अनुदानमा आलुको बीउ वितरण गरेको छ । पालिकाले कृषिमार्फत समृद्ध रिब्दीकोट बनाउने योजना अनुसार व्यवसायिक खेतीका लागि बीउ वितरण गरेको हो ।
कृषकको मागअनुसार व्यवसायिक रुपमा आलु उत्पादन बढाउनका लागि गाउँपालिकाबाट चालु आर्थिक वर्षमा ०७९÷०८० मा कृषि कार्यक्रम अन्तर्गत पालिका भित्रका एक हजार २ सय किसानका लागि आलुको बीउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनु भयो ।
अध्यक्ष कार्कीका अनुसार कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कार्डिनल रातो आलुको बीउ गरिएको हो । यो वर्षका लागि सत्तरी हजार किलोग्राम बीउ आलु विवरण गरिएको हो ।
ग्रामीण भेगमा समेत आलु आयात गर्नुपर्ने अवस्था सृजना भएको हुँदा आलु उत्पादनमा वृद्धि गर्नका लागि बीउ आलु वितरण गरेर उत्पादन बढाउने उद्देश्य अनुसार पालिकाले काम गरेको रिब्दीकोट कृषि शाखा प्रमुख रन्जिव कुँवरले जानकारी दिनुभयो ।
गाउँपालिकाले आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन्। अनुदानमा बीउ वितरण गरी उत्पादन वृद्धिको लक्ष्यसहित स्वरोजगार र आयमूलक कामका लागि आवश्यक युवा शक्तिलाई गाउँमै परिचालन गर्ने लक्ष्य गाउँपालिकाले लिएको सुचना प्रविधि अधिकृत हेमेन्द्र कुँवरले बताउनु भयो ।