एमालेका उम्मेद्वारहरु घरदैलोमा

निर्वाचन क्षेत्र नं. १
नेकपा एमालेका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी हार्न नहुने बताउनुभएको छ ।
रामपुर नगरपालिका वडा नं. १० धन्सारको घरदैलो कार्यक्रममा नेता आचार्यले एमाले हार्दा देशले हार्ने बताउनुभएको हो । देशलाई हार्न नदिन एमालेले जित्नु अनिवार्य रहेको भन्दै नेता आचार्यले देशलाई जोगाउन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले जित्नेगरी तयारीमा जुट्न पार्टी पङ्तिलाई निर्देशन दिनुभयो ।
आचार्यले एमालेले हरेक परिस्थितीमा राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा आवाज उठाउने गरेको भन्दै एमालेप्रति जनताको विश्वास रहेको बताउनुभयो ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ (१) का उम्मेदवार राजु प्रसाद श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले संगठित ढंगले इमान्दार प्रयास गर्नसके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको बताउनुभयो । आगामी निर्वाचनमा बहुमत चाहिने र त्यसका लागि इमान्दार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उहाँको भनाइ छ । श्रेष्ठले मुलुकलाई समृद्ध बनाउने आकांक्षा एमालेले लिएको र पूरा गरेरै छाडने दृढता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै निर्वाचन क्षेत्र नं. १ (२) का उम्मेदवार खेम सारुले माथागढी वडा नं. ३ को ओलेसमा घरदैलो गर्दै एमालेलाई जनतासँग जोड्ने, वर्तमान सरकारले गरेका राष्ट्रघाती कदम, जनविरोधी गतिविधि, महँगी, भष्ट्राचार, असमान विकास बजेटको वितरण, परिवारको नाममा भएका ट्रस्टहरूमा करौडौँ वितरण गरी राज्यको रकम दुरुपयोग, वैदेशिक हस्तक्षेपका विषयमा जनताले राम्रोसंग बुझेको बताउनुभयो ।
सारुले एमालेको पालामा जारी गरेको चुच्चे नक्साको बारेमा भारतसँग गर्नुपर्ने कूटनीतिक कदमको विषयमा सरकार लम्पसारवादी बनेको, सीमा अतिक्रमण भई रहँदा सरकार मुकदर्शक बनेको, बजेट निर्माण गर्दा भएको नीतिगत भ्रष्टाचार, एमसिसी, एसपिपीलगायत सत्तारुढ गठबन्धनले गरेको अन्य ज्यादतीहरूको भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।
निर्वाचन क्षेत्र नं. २
नेकपा एमालेका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले निर्वाचनमा नेकपा एमाले पहिलो शक्तिको रूपमा स्थापित हुने बताउनुभएको छ ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहनुभएका नेता गैरेले संगठन सुदृढीकरणको काम थप व्यबस्थित हुँदै गईरहेको भन्दै एमाले पहिलो शक्तिको रुपमा स्थापित हुने बताउनुभएको हो । रिब्दीकोट वडा नं. ६ घोर्लिखरक, देउराली, धुन्चुक, बुढीचौरलगाएतका स्थानको घरदैलोमा नेता गैरेले पाल्पामा एमालेको जनाधार बलियो रहेको र पार्टीमा इमान्दार कार्यकर्ता रहेकाले संघ र प्रदेशको निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने बताउनुभयो ।
नेता गैरेले केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको क्षेत्रलाई समेटेर नक्सा जारी गरेको भन्दै एमालेले सधै राष्ट्रियताको पक्षमा आवाज उठाएको बताउनुभयो ।
कार्यक्रममा क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार ओम बहादुर घर्तीले नेपालको चासोका लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता विषय अहिलेको गठबन्धनको सरकारको कार्यसूचीमा नै नपरेको बताउनुभयो । नेता घर्तीले नेपालको राष्ट्रिय हितको विषयमा नेकपा एमाले सधै दृढतापूर्वक उभिएको बताउनुभयो ।
नेता घर्तीले राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरूको इशारामा काम गर्नेहरूका बीचमा प्रतिष्पर्धा भएकाले एमालेको जित सुनिश्चित भएको बताउनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षाको थालनी, विपत्ति र भूकम्पपछिको पुनर्निर्माणमा खेलेको भूमिका, पार्टीलाई घेराबन्दी, आक्रमण र दुष्प्रचारका बीचमा पनि जनविश्वास दिन प्रतिदिन बढ्दै जानुले एमालेको जितलाई सुनिश्चित गरेको घर्तीको भनाई छ ।
त्यस्तै क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराईले राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरूबीच निर्वाचन हुन लागिरहेको बताउनुभएको छ ।
बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोकको घरदैलो कार्यक्रममा नेता भट्टराईले समृद्धि कि बर्बादी, लोकतान्त्रिक संस्थाहरूको रक्षा कि मानमर्दनबीचको छनोटका रूपमा निर्वाचनमा सहभागी मतदाताले विचार पुर्याउनुपर्ने बताउनुभयो ।
नेता भट्टराईले एमालेको सही सिद्धान्त र नीति, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका तथा सरकारमा रहँदा समृद्धिका लागि गरेको कामका आधारमा जितिने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च