कात्तिक १८, २०७९
पाल्पा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले गठबन्धन सरकारले मुलुकमा निकास दिन नसक्ने बताउनुभएको छ ।
मुलुकको विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन उहाँले अपिल गर्नुभयो । गैरे पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।
रिब्दीकोट गाउँपालिकाको भैरवस्थान र देउरालीमा भएको चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत भएको घरदैलो तथा टोल भेलामा उहाँले यस्तो बताउनुभएको हो ।
सत्ता स्वार्थ बाहेक गठबन्धनको मुलुक बनाउने कुनै एजेण्डा नभएकाले राष्ट्रिय हितका लागि काम गर्ने एक मात्र पार्टी नेकपा एमालेलाई जिताउन उहाँले आग्रह गर्नुभयो । सत्ता पक्षको गठबन्धन समृद्धि र विकासको बाधक भएको उहाँले आरोप लगाउनुभयो ।
पाल्पा क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ओमबहादुर घर्तिमगरले यस क्षेत्रको सडक स्तरोन्नति, एक घर एक धाराको कार्यक्रमलाई आफ्नो कार्यकालमा समपन्न गर्ने बताउनुभयो । उहाँले धार्मिक पर्यटनको विकासका लागि रणनीतिक योजना तयार गरेर अगाडि बढ्ने बताउनुभयो । साथै यहाँका युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रमका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै पाल्पा क्षेत्र नम्बर २ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराईले राम्दी मेलामै पुगेर मत माग्नु भएको छ ।
हरिबोधनी एकादशीका दिन कालीगण्डकी किनारमा नुहाउन तथा पुजाआरधना गर्न पुगेका भक्तालुहरूसँग सूर्यमा मतदान गर्न आग्रह गर्नुभयो ।
सोही क्रममा उहाँले आफू निर्वाचित भएर गएपछि रामनदीधामलाई व्यवस्थित गर्ने बताउनुभयो । यहाँदेखि रानीघाट हुँदै रिडीसम्मको क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताउनुभयो । भट्टराइले बगनासकालीको पोखराथोक, नायरनमतलेस र चिदीपानीमा पुगेर मत माग्नुभएको छ ।
पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले राष्ट्र र राष्ट्रियता रक्षार्थको लागि एमालेले जित्नुपर्ने बताउनुभएको छ । माथागढी गाउँपालिकाको गोठादी र हात्तिलुङमा भएको घरदैलो तथा टोलभेला कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन अनिवार्य रहेको बताउनुभयो ।
मनसेवा दमार सिँचाई योजना सम्पन्न गर्ने, यहाँ अहिलेपनि मोबाइल नेटवर्कको समस्या भएकाले यसको लागि आफूले कम गर्ने आचार्यले बताउनुभयो । झँडेवा–खैरेनी र जगात–भुटुके–सुनवल सडक स्तरोन्नति गर्ने, यहाँको लघुजलविद्युतबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रशारणमा जोड्ने र यहाँको आम्दानीको स्रोतमा वृद्धि गर्ने बताउनुभयो । साथै ग्रामिण विद्युतिकरणको कार्यक्रमलाई सम्पन्न गर्ने बताउनुभयो ।
पाल्पा क्षेत्र नम्बर १ प्रदेशसभा २ का उम्मेदवार राजुप्रसाद श्रेष्ठले रामपुर नगरपालिका–५ बेझाड, मटेरी, बहखोला, राङभाङमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ । आफू निर्वाचित भएपछि नयाँ ट्रयाक खोलिएका सडकको स्तरोन्नति गर्ने र बाँकी सडकलाई आवश्यकताअनुसार ग्राभेल र कालोपत्रे गर्ने उहाँले बताउनुभयो । यहाँका युवालाई स्वरोजगार बनाउनका लागि प्रभावकारी कार्यक्रमका लागि पहल गर्ने बताउनुभयो ।
पाल्पा क्षेत्र नम्बर १ प्रदेशसभा २ का उम्मेदवार खेमबहादुर सारुले इतिहास बोकेको माथागढीलाई धार्मिक पर्यटकका लागि आकर्षक बनाउने बताउनुभयो । साथै यहाँको कृषि र सिँचाईको क्षेत्रमा विशेष कार्यक्रम सञ्चालनका लागि पहल गर्ने बताउनुभयो ।