नेपाल–भारत सम्बन्धलाई थप तनावपूर्ण बन्न नदिन कूटनीतिज्ञहरुको जोड

जेठ ८,काठमाडौं ।
नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल–भारत सम्बन्ध तनावपूर्ण बनेको छ ।

नेपालले नयाँ नक्सा सार्वजनिक गरेलगत्तै भारतको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् नयाँ नक्सा मान्य नहुने बताइसकेको छ ।

आरोप–प्रत्यारोप जनस्तरसम्मै पुग्दा चिन्ता र चासो बढेको छ । दुई देशबीच उत्पन्न तनावलाई कूटनीतिक पहलबाटै समाधान गर्नुपर्नेमा परराष्ट्रविद्हरुको जोड रहेको छ ।

नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको तीन दिनपछि भूमि व्यवस्था मन्त्रालयले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेका भू–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो ।

सन् १८१६ मार्च ४ को सुगौली सन्धिअनुसार नेपालले काली नदीपूर्वका गुञ्जी, नाभी, कुटी र पश्चिम सीमाविन्दु लिम्पियाधुरासम्मको भू–भाग नयाँ नक्सामा समेटेको छ ।

नयाँ नक्सा सार्वजनिक गरेलगत्तै भारतले ‘भारतको सार्वभौमिकता र भौगोलिक अखन्डताको सम्मान गर्न’ आग्रह गर्दै नयाँ नक्साप्रति आपत्ति जनाउँदै ‘नक्सा अस्वीकार्य’ भएको चेतावनी दिएको छ । यसले दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको प्रस्ट संकेत गर्दछ ।

परराष्ट्रविद् शम्भुराम सिम्खडा दुई देशबीच उत्पन्न विवाद वार्ता र कूटनीतिक पहलबाटै समाधान गर्नुपर्ने बताउँछन् । यस्तै, त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्रा. डा. खड्ग केसी पनि दुई देशबीचको जारी विवाद वार्ता र कूटनीतिक तवरबाटै समाधान गर्नुको विकल्प नभएको बताउँछन् ।

नेपालको नयाँ नक्सा सार्वजनिक भएलगत्तै भारतीय मिडियाहरु पनि नेपालप्रति आक्रामक देखिएका छन् । उनीहरुले चीनको उक्साहटमा नेपालले भारतीय भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेको र यो एकपक्षीय, ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नभएको आरोप लगाएका छन् ।

तर, प्राध्यापक डा. केसी भारतीय मिडिया र बौद्धिक वर्गले सार्वजनिक गरेका धारणा भारतको संस्थापन पक्षको धारणा नभएको जिकिर गर्छन् । विदेश मन्त्रालयमार्फत् भारतले समस्या समाधान गर्न कूटनीतिक वार्ताका लागि नेपालले सकारात्मक वातावरण बनाउनुपर्ने शर्त अघि सारेको छ ।

परराष्ट्रविद् सिम्खडा कुनैपनि पक्षले शर्तअघि नसारी वार्ताको वातावरण बनाउनुपर्ने बताउँछन् । नेपाल र भारतबीच जुनखालको सम्बन्ध छ, त्यो लामो समय तनावबाट गुज्रनु दुवै देशका लागि हितकारी हुँदैन ।
त्यसैले तत्काल संवादको ढोका खोलेर जनस्तरमा पुगेको तनावलाई आश्वस्त पार्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च