पाल्पाको रिब्दिकोट गाउँपालिका गाउसभाको १२ औ अधिवेशनको पहिलो बैठक विहिवारदेखि सुरु भएको छ ।
गाउसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नारायण बहादुर कार्कीले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताउनु भयो ।
उहाँले गाउपालिकाका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिनुपर्ने बताउदै, ‘चालु आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएका सबै योजनाहरु चालु आर्थिक वर्षभित्रै पूरा गरी आउँदो वर्षमा नयाँ योजना, नयाँ शैली र नयाँ अभियानका साथ अघि बढ्नेछौं ’अध्यक्ष कार्कीले भन्नुभयो ।
सभामा कार्यपालिका सदस्य सुनिल बस्यालले रिब्दीकोट गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ पेश गर्नुभएको थियो । पेश भएको विधेयकमाथि छलफल गरिएको थियो । छलफल अनुसार विधेयकमा आवश्यक संशोधन पेश गर्न चाहने सदस्यहरुका लागि ४८ घण्टाको समय तोकिएको छ । विधेयक छलफलका लागि विधायन समितिमा पठाउने निर्णय समेत सभाले गरेको छ । सभाको अर्को बैठक आगामी पौष महिनाको २४ गते आइतबार विहान १० बजे बस्ने सभाका सचिव तथा रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले जानकारी दिनुभयो ।
अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा बैठक बसेको थियो ।सभामा विभिन्न समितिका संयोजकहरुले आफ्नो प्रस्तुतीकरण तथा प्रतिवेदन पेश गरेका छन् । सभामा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पवन अर्याल, कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्ष, वडा सदस्य, स्थानीय, पत्रकार, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।