जेठ १०,बुटवल ।
प्रदेश नम्बर ५ सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारीले निम्त्याएको असरलाई पुनरुत्थान गर्ने गरी प्रदेश सरकारले कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको छ ।
प्रदेशसभामा शनिबार प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कोरोनाको कारण आगामी दिनमा पर्नसक्ने असरलाई कम गर्ने उद्देश्यका साथ कृषिलाई उच्च प्राथमिकतामा राखिएको छ । कोरोना संक्रमणको कहर अनुमान गर्न नसकिने भन्दै सहज स्थिति हुनासाथ प्रदेशको तीव्र आर्थिक विकास गर्ने गरि सरकारले कामहरु अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेश प्रमुख यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाका कारण बजेटको स्वरुप नै परिवर्तन गनुपर्ने बताए ।
कार्यक्रम अन्र्तगत नियमित आम्दानी हुने र नाफामूलूक क्षेत्रमा लगानी गरिने उल्लेख छ । ‘स्वदेशी श्रम स्वदेशमै पसिना’ तथा कृषिको उत्पादन वृद्धिको लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ । कृषि उत्पादकत्व र किसानको आयमा वृद्धि गर्ने गरी स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गरिने उल्लेख छ ।
‘गरौ व्यवसायिक कृषि, यसबाट शुरु हुन्छ प्रदेशको समृद्धि’ भन्ने नाराका साथ कृषि मार्फत रोजगारी सृजना गर्ने नीति प्रदेश सरकारले लिएको छ । रुकुमलाई अर्गानिक जिल्ला घोषणा गरिने सरकारले योजना लिएको छ । कृषि पेसालाई सम्मानजनक बनाउन किसानलाई सम्मान गरिने तथा पूर्णकालिन किसानको पहिचान गरि परिचयपत्र दिएर सहुलियत दिइने पनि प्रदेश प्रमुख यादवले उल्लेख गरे ।
पशु स्वास्थ्यको संरक्षण र सम्वर्द्धन, पशु नश्ल सुधारका कार्यक्रम सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बृहत्तर पर्यटन प्रवद्र्धन गर्दै लुम्बिनी र यससँग जोडिएका क्षेत्रहरुको विकास गर्ने, निकुञ्ज र वन क्षेत्रमा थुप्रिएको खनिजको प्रयोग गर्ने, स्थानीय तह पहुँच मार्गलाई बहु आयोजनाका रुपमा अगाडि बढाउने लक्ष्य निति तथा कार्यक्रमले लिएको छ ।
सिद्धार्थ सडकखण्डको सिद्धबाबाको वैकल्पिक सडकका रुपमा हेरिएको चरङ्गे झुम्सा सडकमा अर्को वर्षसम्म गाडी सञ्चालन गरिने उल्लेख गरिएको छ । सडक पूर्वाधार, मर्मत सम्भार गर्ने, प्रदेशभित्र वैज्ञानिक व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
महिला बालबालिका, एकल महिला, जेष्ठ नागरिक, लक्षित कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रमुख यादवले उल्लेख गरेका छन् । अपाङ्गता ग्राम, आर्थिक तथा सामाजिक सशक्तीकरणको निति पनि लिइने उनले बताए ।
प्रदेश ५ को अधिवेशन शुक्रबारबाट शुरु भएको थियो ।