जेठ १४,काठमाडौं ।
सरकारले आज संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश गर्ने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रतिनिधि सभा बैठकमा संविधान संशोधनको प्रस्ताव पेश गर्न लागिएको हो ।
बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।
नेपालको नक्शामा उल्लेखित अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको हो । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गर्दै आएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याउने प्रस्तावलाई समर्थन गर्ने जनाइसकेको छ भने संसदमा रहेका अरु दलले पनि समर्थन गर्ने जनाएका छन् ।मधेश केन्द्रित दलहरुले भने संविधान संशोधन गर्न लागेका समयमा आफूहरुले उठाउँदै आएका संशोधनको विषय पनि यसै बेला एकमूष्ठ रुपमा संलग्न गराउन माग गर्दै आएका छन् ।