नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेता तथा सासंद चन्द्र भण्डारीको प्रशंसा गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका चन्द्र भण्डारी असल र भलाद्मी व्यक्ति भएको बताए।
‘गुल्मीबाट जित्नुभएका चन्द्र भण्डारी भलाद्मी व्यक्ति नै हुनुहुन्छ। तर उहाँले बोकेर हिँडेको विचार गलत छ, उनले भने। आफू नेपालका सबैजसो जिल्ला घुम्दापनि कांग्रेसभित्र चन्द्र भण्डारीजस्तो असल र भलाद्मी अर्को कुनै व्यक्ति नभेटेको ओलीको भनाइ छ।
‘नेपालमा तिनफन्का लगाउँदा पनि मैले कांग्रेसभित्र चन्द्र भण्डारीजस्तो भलाद्मी व्यक्ति भेटेको छैन, उहाँ व्यक्ति राम्रो भएपनि उहाँले बोकेर हिँड्ने डोकोमा पार्टीले गलत नीति राखिदिन्छ त्यही बोकेर हिड्नुहुन्छ,’ उनको टिप्पणी थियो। ओलीले जलेर घाइते भएका भण्डारीको स्वास्थ्यलाभको कामना समेत गरे।
‘उहाँले जितेको जिल्लामा आउँदा उहाँको स्वास्थ्यलाभको कामना गर्छु र सोही घटनामा परी उहाँको माताको निधन भएकोप्रति दुःख व्यक्त गर्छु, श्रद्धासुमन व्यक्त गर्छु,’ ओलीले भने।
मिसन ग्रासरुट अभियान अन्तर्गत शनिबार साविक लुम्बिनी अञ्चलका जिल्लाको भ्रमणमा निस्किएका ओली कपिलवस्तु, अर्घाखाँची हुँदै सोमबार गुल्मी पुगेका हुन्। सोमबार गुल्मीको तम्घासमै बस्ने ओलीले पाल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गरी रुपन्देही जाने कार्यक्रम तय गरिएको छ।