बाँके । बाँकेको एक सामुदायिक विद्यालयमा पढ्ने छात्रले शुल्क तिर्न नसकेपछि आमाले आफूले लगाउँदै आएका गहना धरौटी राखेर छोराको प्रवेशपत्र दिलाएकी छिन् ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ बस्ने कस्तुरी बुढाले छोरा पृथ्वीको शुक्रवारदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागिता सुनिश्चित गर्नका लागि गहना धरौटीमा राखेकी हुन् ।
बाँकेको बैजनाथ गाउँपालिका– ४ तिलकपुरस्थित समावेशी माध्यमिक विद्यालयले परीक्षाका लागि प्रवेशपत्र नदिएपछि कोहलपुर– २ बस्ने कस्तुरी बुढाले नजिकैको सुन पसलमा गहना धरौटीमा राखेर कम ल्याएकी थिइन् ।
‘विद्यालयले पैसा तिर्न भन्यो । पैसा खोजें, कहीँ पाइएन । स्कूलले प्रवेशपत्र दिएन । एकपटक ५ हजार, अर्कोपटक ६ हजार, फेरि १ हजार र ५ सय गरी १२ हजार ५०० फी बुझाएपछि बल्ल पत्र दिया हुन्,’ उनले भनिन् ।
जाजरकोट स्थायी घर भएकी बुढाको परिवार ७ वर्ष अघिसम्म कपिलवस्तुको गोरुसिंगेमा बस्दै आएको थियो । कोहलपुर आएपछि पृथ्वी उक्त विद्यालयमा कक्षा ३ मा भर्ना भएका थिए । बुढा परिवारको आर्थिक अवस्था कमजोर छ ।
बैजनाथ गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वराज ढकालले आफूले पनि सामाजिक सञ्जालबाट घटनाबारे थाहा पाएको बताए । यस विषयमा उक्त विद्यालयका प्रधानाध्यापकलाई बोलाएर वास्तविक कुरा बुझ्ने उनको भनाइ छ ।
‘विद्यालयले साँच्चै यस्तो गरेको रहेछ भने गलत गर्यो,’ ढकालले भने, ‘प्रअलाई फोन गरेर पालिकामा बोलाएका छौं ।’
पृथ्वी कस्तुरीका कान्छा छोरा हुन् । जेठा नबिन पनि कक्षा १० मा नै पढ्छन् । तर, उनी बिरामी भएकाले परीक्षा दिन सकेनन् ।
‘ठूलो बाबु बिरामी छ, उसले परीक्षा दिन सकेन,’ कस्तुरीले भनिन् ।
‘गाउँमा मान्छे बिते,’ उनले थपिन्, ‘मान्छे बितेपछि गाउँमा खसी काट्ने कुरा भएन । त्यसो नहुँदा मैले पालेको खसी बिक्री भएन । अनि छोराको परीक्षा नरोक्न तिलहरी नै धितोमा राखें ।’
उनका श्रीमान् रोजगारीका लागि भारतमा छन् । गएको एक हप्तामा उनले उतैबाट ऋण खोजेर २० हजार रुपैयाँ घर पठाए ।
उक्त रकम जेठो छोरा नविनको उपचारमा खर्च भएको कस्तुरी बताउँछिन् । नविनको हात, खुट्टा र आँखामा समस्या छ । साथै मानसिक रूपमा समेत समस्या देखिएको छ ।
तर, विद्यालयका प्रधानाध्यापक चुडामणि पोखरेल भने परीक्षाको मुखमा पृथ्वीको प्रवेश पत्र रोकेको भन्ने आरोप खण्डन गर्छन् ।
‘उहाँहरूले विद्यालयमा तिर्नुपर्ने शुल्क नै बाँकी छैन,’ प्रअ पोखरेलले लोकान्तरसँग भने, ‘रजिस्ट्रेसन लगायतका सबै शुल्क फागुनमै तिर्नुभएको हो । पुरानो बिल राखेर विद्यालय र मलाई गलत देखाउने गरी हल्ला गरिएको छ ।’
विद्यालयमा ५ सय ५० विद्यार्थीहरू अध्ययनरत छन् । विद्यालयले शुल्क नभनी विद्यार्थीबाट मासिक सहयोगका नाममा रकम लिने गरेको छ । लोकान्तर बाट साभार