पाल्पा ।
पाल्पाको बगनासकाली गाउँपालिका वडा १ चिर्तुङ्गधाराका मौरी पालक कृषकहरुलाई अनुदानमा मौरी घार वितरण गरिएको छ ।
आ.व. २०७६÷०७७ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा वडाका ५४ जना कृषकहरुलाई मौरी घार वितरण गरेको हो । व्यवसायिक रुपमा मौरी पालन गर्दै आएका किसानहरुको आय आर्जन वृद्धि गर्ने उदेश्यले घार वितरण गरिएको वडा अध्यक्ष सोम बहादुर झेंडीले बताए ।
‘परम्परागत रुपमा मुढे घारमा मौरीपालन गर्दै आएका कृषकलाई आधुनिक घारमा मौरी पाल्न अभिप्रेरित गर्ने, वडालाई रासायनिक विषादीको प्रयोगमा न्यूनिकरण गर्दै मौरी जोनका रुपमा विकास गर्ने लक्ष्य लिएको अध्यक्ष झेंडीले बताए ।
गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल,उपाध्यक्ष सरस्वती चिदी,वडा नं. २ का वडाका अध्यक्ष टेकनाथ शर्मा, कृषि विकास शाखा प्रमुख राजेश बोहोरा लगायतको उपस्थितिमा सामाजिक दुरी कायम गर्दैै घार वितरण गरिएको थियो ।
घार वितरण गर्दै गाउँपालिका अध्यक्ष बस्यालले बगनासकालीलाई मौरी गाउँका रूपमा चिनाउन गाउँपालिकाले अनुदान दिर्दै आएकाले इमान्दार भएर व्यवसायिक रुपमा लाग्न कृषकलाई आग्रह गरे । गाउँपालिका मौरी पालनको रुपमा उपयुक्त क्षेत्र रहेकाले व्यवसायिक रुपमा कृषकलाई प्रोत्साहन गरी मौरी व्यवसायीबाटै गाउँपालिकाको समृद्धि गर्ने अध्यक्ष बस्यालले बताए ।
गाउँपालिकालाई मौरी गाउँको रुपमा विकास गर्ने गरी अनुदानमा घार वितरण गरिर्दै आएको कृषि शाखा प्रमुख राजेश बोहराले बताए । गाउँपालिकाले यस अघि पनि वडा नं. ३ र ९ मा गोला सहित मौरी घार, खाली घार, मौरीजन्य विभिन्न सामग्रीहरू वितरण गरेको थियो ।