जेठ २१, अर्घाखाँची/कृष्ण परियार ।
भिम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्ड डा.नविन दर्नालले स्वास्थ्य सामाग्री वितरण गरेका छन् । गृह जिल्ला अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकोटका क्वारेण्टाईनमा बसेका नागरिकहरुलाई स्वास्थ सामाग्री वितरण गरेका हुन् ।
भारत तथा छिमेकी जिल्लाबाट आएर क्वारेण्टाईनमा बसेका ९५ जना र स्वास्थकर्मिहरुलाई मास्क, सेनिटाईजर, ग्लब्स र पिपिई सेट उपलब्ध गराएका हुन् । क्वारेण्टाईनमा बसेकाको स्वास्थ्य अवस्थालाई चेकजाँच गर्दा स्वास्थ्यकर्मी लागि आवश्यक पर्ने ५ थान पिपिई सेट, ४ लिटर सेनिटाईजर, हातमा लगाउने ग्लब्स १ सय थान, १ हजार थान सर्जिकल मास्क उपलब्ध गराएको वडा सदस्य रामलाल खनालले बताए ।
चन्द्रप्रभा माविको प्रागणमा सामाजिक दुरी कायम गर्दै डा. दर्नालका काका लोकदोहोरी गायक जीवन परियार मार्फत उक्त सामाग्री हस्ताण्तरण गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि बिष्णु भुसाल, रामलाल खनाल, बसन्ता केसी, क्वारेण्टाईनमा बसेकाहरुको सहयोगमा खटिएका बालकृष्ण शाह, केशव घिमिरे, विकास केसी लगायतको उपस्थिति रहेको थियो ।
भिम अस्पतालमा आफु कार्यरत रहेपनि आफु जन्मेको ठाउँका लागि केही गर्नु पर्छ भन्ने उद्देश्यका साथ स्वास्थ्य सामाग्री उपलब्ध गराएको उनले भने“उक्त सामाग्री नितान्त व्यक्तिगत खर्चले प्रदान गरेको हो ।” उनले आगामी दिनमा जिल्लाका लागि आवश्यक परेको खण्डमा स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्ने पनि बताए ।