मनसुन भित्रियो, केही दिनमा सक्रिय हुने

काठमाडौँ ।
सामान्य भन्दा दुई दिन ढिला गरी नेपालमा मनसुन प्रवेश गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वबाट शुक्रबार मनसुन नेपाल प्रवेश गरेको हो । मनसुन प्रवेश गरेसँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । तत्कालका लागि मनसुनी गतिविधि त्यति सक्रिय छैन ।

तर न्यून चापीय क्षेत्रको प्रभाव बलियो रहेकाले एक–दुई दिनमा मनसुनी गतिविधि सक्रिय हुने देखिएको मौसमविदको भनाई छ । सोही भएर आवश्यक सतर्कता अपनाउन र मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न मौसमविदको सुझाव रहेको छ ।

अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिम भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्यून चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ। शनिबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति पनि देशभर सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च