असार १, गुल्मी ।
जातीय विभेदको आरोप लागेका कालीगण्डकी गाउँपालिका ५ का नेत्रबहादुर काउछालाई धरौटीमा छोड्न जिल्ला अदालत गुल्मीले आदेश दिएको छ । जिल्ला अदालत गुल्मीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले आइतबार उनलाई ६० हजार धरौटीमा छोड्न आदेश दिएको श्रेष्तेदार भीमप्रसाद भुसालले जानकारी दिए।
कालीगण्डकी गाउँपालिका–५ फोक्सिङका काउछा बिरुद्ध सोही स्थानका दलित युवा श्याम परियारलाई घरभित्र पसेको भन्दै जातीय विभेद गरेको आरोपमा अभियोग दायर भएको थियो । आइतबार भएको थुनछेक बहसपछि जिल्ला अदालत गुल्मीद्वारा तत्काल थुनामा राखेर कारवाही गर्ने प्रकृतिको पनि नदेखिएको र सामान्य तारेखमा छोड्ने प्रकृतिको पनि नदेखिएकाले पछि अनुसन्धान गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई ६० हजार धरौटी लिने आदेश भएको श्रेष्तेदार भुसालले जानकारी दिए ।
वैशाख २२ गते मलामी गएर फर्किएका २७ वर्षीय श्यामबहादुर परियार ठूलो पानीको कारण ओत लाग्न काउछाको घरमा पसेका थिए। घरधनी काउछासहितका स्थानीयले मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पूजापाठ गराउनुपर्ने भन्दै १५ सय जरिवाना गराएका थिए। श्यामबहादुरले आफू दलित भएकै कारण विभेद गरी जरिवाना गराइएको भन्दै जातीय छुवाछुतविरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा मुद्दा दर्ता गराएका थिए।
जिल्ला प्रहरी कार्यालय गुल्मीले काउछालाई जेठ ६ गते प्रक्राउ गरेर अनुन्धान गरेको थियो।यसअघि गुल्मीका दलित अधिकारकर्मी तथा संगठनले दलित भएकै कारण जरिवाना गराइएको भन्दै विरोध जनाउँदै आएका थिए।