५ असार, गुल्मी/अनिल खत्री ।
होम क्वारेन्टीनमा बसेका एक जनाको मृत्यु भएको छ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–५ मैनडाँडा निवासी ६९ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले बताए ।
गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टीनमा बस्दै आएका उनको गएराती मृत्यु भएकोहो । भारतमा उपचार गरेर घरमा ल्याइएका पुरुषको बिहिवार कोरोना परिक्षणका लागि आरडिटी पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । मृतक पुरुष प्यारालाइसेसको बिरामी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए ।
मृतक पुरुषको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको सूचना अधिकारी आचार्यले बताए । मृतक पुरुषलाई भारतबाट हेरचाहा गर्दै नेपाल ल्याएका अर्का एक जनाको आरडिटी परिक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
भारतबाट आएर क्वारेन्टीनमा बस्न नसक्ने भएपछि मृतकका छोरी ज्वाइले हेरचाहा गर्ने गरि होम क्वारेन्टीनमा राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पौडेलले बताए । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १०५ जना पुगेको छ ।