असार १०, पोखरा ।
गण्डकी प्रदेशमा बुधवार बिहान थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएका पिसिआर परीक्षणको नतिजा आएसँगै नयाँ ३२ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार लमजुङमा ५ जना, पर्वतमा १ जना, स्याङ्जामा ७ जना, कास्कीमा ५ जना, गोरखामा १ जना, बागलुङमा ९ जना, तनहुँमा १ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १ जना रहेका छन्। यो सँगै प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या ७ सय २९ पुगेको छ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा बिनोदबिन्दु शर्माकाअनुसार सम्बन्धित जिल्लाका क्वारेनटाइन तथा होम क्वारेन्टाईनमा रहेका उनीहरूलाई बुधवार नै सम्बन्धित जिल्लाका आइसोलेसनहरूमा सार्ने तयारी भइरहेको छ।