असार १५,काठमाडौं ।
आज राष्ट्रिय धान दिवस । यस दिन नेपाली समाजमा दहि च्यूरा खाने दिनका रुपमा पनि प्रचलित छ ।‘मुठी खाएर मुरी उब्जाउने’ महिनाका रुपका लिइने असार १५ का दिन भने नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालका अधिकांश मानिसको पेशा अहिले पनि खेतीपाती नै हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।
नेपाली अर्थतन्त्र कृषि प्रधान भए पनि केही वर्ष अगाडिसम्म धान निर्यात गर्ने देश अहिले अर्बौअर्बको धान अयात गरेर आफ्ना जनता पालिरहेको छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्र ३१ अर्बको चामल आयात गरिसकेको छ ।
कृषि खेतीमा प्रविधि र यान्त्रिकीकरण गर्न नसक्दा, जनशक्ति कामका लागि आफ्नो थातथलो छाडी शहर र विदेश पलायन हुँदा मुलुक खाद्यान्नका लागि परनिर्भर भएको निकै वर्ष हुन थाल्यो । यस वर्ष कृषकलाई कोरोनाको कहर त थियो नै सलहको अर्को प्राकृतिक आपत् पनि थपिएको छ । जसले किसान चिन्तित भएका छन् ।
नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा धान खेती हुँदै आएको छ । नेपालमा मौसमको आधारमा चैते, बर्खे, घैया र बोरो धानको खेती हुँदै आएको छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४८ दशमलव ३ प्रतिशत जमिनमा धान खेती गरिन्छ ।
नेपालमा वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।
नेपालमा धानको उत्पादन प्रतिहेक्टर तीन हजार किलो हुने गरेको अनुमान छ । नेपालमा धानका रैथाने जातका ८६ मध्ये ७ वटा मात्र रैथाने जातका धानको खेती हुन्छ । नेपालमा करिब १४ लाख २५ हजार हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको कृषि मन्त्रालयको आँकडा छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशत कृषि क्षेत्रको योगदान छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।
आज खेतखेतमा रोपाँईको चटारो देखिन्छ भने रोपाँई गरिसकेका किसानले खेतमा गएर दहि चिउरा खाने गर्दछन् । रोपाँईमा असारको फल मानिने आँप, कटहर सहित दहि र चिउरा खाइन्छ । असारे भाखा हाली गीत गाउँनु रोपाँईको अर्को आकर्षण हो । रोपाँईमा बाउसे र लाठेहरुले गरा सम्याउने र आली मिलाउने काम गर्दछन् भने रोपाहारहरुले धानको बिउ खेतको हिलोमा रोप्दछन् ।
यसवर्ष असार लागेसँगै मनसुन शुरु भएकाले कृषकलाई असार १५ चटारोका रुपमा देखिएको छ । जुम्लाको मार्सी धान नेपालभरी नै कहलिएको धान हो । नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने नेपालमा सामान्यतया २५ डिग्री तापक्रमदेखि ३२ डिग्री सेन्टिग्रेड तापक्रम भएका स्थानमा धान खेती गरिन्छ ।