असार १८,काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ ।
मन्त्रिपरिषदले गरेको सिफारिश अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना उहाँले संघीय संसदलाई पठाउनुभएको छ ।
यसअघि बिहीबार विहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिश गरेको थियो ।
मन्त्रिपरिषदले संसद बैठक अन्त्यको निर्णय गर्नुपूर्व प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो ।
वैशाख २६ गतेबाट शुरु भएको संसदको यस अधिवेशनले नागरिकता, निजामती सम्बन्धी विधेयक र एमसीसी सम्झौताबारे निर्णय गर्नुपर्ने भएपनि बैठक हठात् अन्त्य गरिएको हो ।
अधिवेशन अन्त्यप्रति कांग्रेसको आपत्ति
सरकारले संघीय संसदको बैठक एकाएक अन्त्य गरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया हुँदाहुँदै त्यसलाई अवलम्बन नगरी कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि ‘एमसीसी’ हुँदै अन्य महत्वपूर्ण विधेयकहरुबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद् भएको जनाउनुभएको छ ।
अधिवेशन अन्त्यबारे प्रमुख प्रतिपक्ष दलसँग कुनै परामर्शसमेत नगरिएको पनि जनाइएको छ विज्ञप्तिमा सत्तारुढ दलभित्रको विवाद आफ्नो ठाउँमा रहेको तर राजनीतिक दलभित्रको द्वन्द्वको दुस्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद्मात्रै नभइ आपत्तिजनक रहेकोसमेत कांग्रेसले जनाएको छ ।