असार २३,बुटवल ।
मजदुरहरुको कष्टकर दैनिकीलाई सहज बनाउन नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले माग गरेको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देही तथा आवद्ध संस्थाहरुको टोलीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई मंगलबार ज्ञापन पत्र बुझाउँदै अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको दैनिकीलाई सहज बनाउनका लागि माग गरेको छ ।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनकालागि सरकारले गरेको लकडाउनका कारण अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुहरुको दैनिकी दिनप्रतिदिन कष्टकर बन्दै गएको भन्दै दैनिक ज्याला मजदुरी गरि जिवनयापन गर्ने मजदुरलाई दैनिक जिवन यापन गर्न सहज वातावरण सिर्जना गराईदिनका लागि माग गरिएको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरीले बताए।
नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कार्यबाहक अध्यक्ष ओम प्रकाश चौधरी द्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्र रुपन्देही का प्रमुख जिल्ला अधिकारी महादेव पन्थ लाई हस्तान्तरण गर्दै स्वरोजगार व्यबसाय सञ्चालनकालागि सहज वातावरण बनाईदिन आग्रह गर्नुभयो ।
अनौपचारिक क्षेत्रका पेशा व्यबसाय बन्द हुँदा त्यसमा आश्रित मजदुरहरुको दैनिक जनजिवन कष्टकर भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सैलुन, होटल व्यबसाय, व्यूटिपार्लर, ई–रिक्सा, निर्माण सम्बन्धि कामहरु, सार्वजनिक यातायातका सवारी साधन लगायत लामो समयदेखि बन्द हुँदा त्यसमा काम गर्ने मजदुरहरुको जनजिवन कष्टकर बन्दै गएकाले यी व्यबसायमा सुरक्षाका सबै उपायहरु अवलम्बन गरेर सञ्चालनको वातावरण बनाउन माग गरिएको कार्यबाहक अध्यक्ष ओम प्रकाश चौधरी ले बताउनु भयो ।
त्यस अवसरमा रुपन्देही का प्रमुख जिल्ला अधिकारी महादेव पन्थ ले कोरोना भाईरसको संक्रमण फैलिन नदिनकालागि गरिएको लकडाउनले कष्टकर बनेको जनजिवन सहज बनाउनकै लागि मापदण्ड केही खुला गरिएको बताउनु भयो ।