भारतमा २१ दिने बन्दाबन्दी आज सकिँदै

बैशाख २, काठमाडौं ।
कोरोनाभाइरस नियन्त्रणका लागि भारतले लगाएको २१ दिने लकडाउन (बन्दाबन्दी) को अवधि आज (अप्रिल १४) सकिँदैछ। आजै राष्ट्रको नाममा सम्बोधन गर्ने तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बन्दाबन्दी लम्ब्याउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

मोदीले बिहान १० बजे सम्बोधन गरेपछि मात्र कहिलेसम्म बन्दाबन्दी थपिने निश्चित हुनेछ। तर, त्यसअघि नै आठ राज्य र एक केन्द्र शासित प्रदेशले अप्रिल ३० सम्म बन्दाबन्दी घोषणा गरेका छन्। केन्द्र सरकारले त्यसैलाई निरन्तरता दिनसक्ने जनाइएको छ।

भारत सरकारले गत मार्च २५ देखि बन्दाबन्दी घोषणा गरेको थियो। कोरोना संक्रमण सुरु हुन थालेपछि पछिल्लो २६ दिनमा मोदीले चौथो पटक सम्बोधन गर्न लागेका हुन्। सम्बोधनमा उनले हरेक पटक महत्वपूर्ण घोषणा गर्ने गरेका छन्।

मोदीले यसपटक दुई हप्ताका लागि बन्दाबन्दी घोषणा गर्नसक्ने भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ। गत शनिबार उनले मुख्यमन्त्रीहरुका साथ बैठक गरेका थिए। बैठकमा ७८ करोड जनसंख्या भएका १३ राज्यले अप्रिलभरि बन्दाबन्दी गर्ने सहमति जनाएका थिए।

अहिलेसम्म भारतमा १० हजार ४५३ संक्रमित फेला परेका छन्। तीमध्ये एक हजार १८१ जना निको भएका छन् भने ३५८ जनाको मृत्यु भएको छ।

सोमबार मात्र त्यहाँ १२ सय ४८ नयाँ संक्रमित भेटिएका छन्। एकै दिन भारतमा भेटिएको संक्रमितको यो अहिलेसम्मकै ठूलो संख्या हो। त्यहाँ पछिल्लो पाँच दिनमा मात्र करीब चार हजार ५०० संक्रमित फेला परेका छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च