वैशाख २ ,काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगको छ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका दुईजनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या १६ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘मिडिया ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना संक्रमण देखिएको भन्दै एकजनाको रिपोर्ट आउन बाँकी रहेको बताए ।
उनले रौतहटका १९ वर्षीय युवक र मंगलबार ‘पोजिटिभ’ नतिजा आएकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु भइसकेको जानकारी दिए ।
सनसिटी अपार्टमेन्टका संक्रमित व्यक्ति चैत पहिलो साता लन्डनबाट आएका आमा र छोरा हुन् ।
सनसिटी अपार्टमेन्टमा बस्ने झन्डै ५०० परिवारका दुई हजार व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाले ‘र्यापिड डाइग्नोस्टिक किट’ र ‘पीसीआर’ दुवै प्रविधि गरी हालसम्मा १२ हजार ९०६ जनाको परीक्षण गरिएको भन्दै २१ जिल्लामा कोरोनाको परीक्षण हुन बाँकी रहेको बताए ।
अहिले देशभर ९९ व्यक्ति अस्पतालको ‘आइसोलेसन’मा भर्ना भएका छन् भने पाँच हजार ७७१ जना ‘क्वारेन्टाइन’मा रहेका छन् ।
कोरोनाको संक्रमण पत्ता लगाउन सरकारले र्यापिड डाइग्नोस्टिक किटबाट गरिने परीक्षणलाई तीव्रता दिएको छ ।
हालसम्म ‘आरडीटी’बाट ६ हजार ६०७ जनामा परीक्षण भएको छ । पछिल्लो २४ घन्टामा मात्रै एक हजार ६१६ जनामा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।