लकडाउनमा कृषि एम्बुलेन्स सञ्चालन हुने

बुटवल। लकडाउनका समयमा किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको ढुवानी सहज बनाउन प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको अनलाइन पत्रकार सम्मेलनमा प्रवक्ता तथा योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले उत्पादक किसान, सहकारी संस्था तथा व्यवसायीलाई सहुलियत दरमा तरकारी, फलफूल, दूध, माछा, मासु तथा अन्य उपभोग्य सामग्रीको उपलब्धतालाई सहज बनाउन ४४ पिकअप भ्यान परिचालन गर्न लागिएको जानकारी दिए ।

मन्त्रालयले व्यवस्थापन गर्ने सवारी साधनको न्यूनतम भाडा कृषि उद्यमी तथा कृषि सहकारीले व्यहोर्नेछन् । गाडीका लागि आवश्यक इन्धनको व्यवस्था कृषि ज्ञान केन्द्र र पशु सेवाविज्ञ केन्द्रले मिलाउने उनले बताए ।

किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई सहज रुपमा बिक्रीवितरण र ढुवानीको वातावरण बनाउन मन्त्रालयले यस्तो निर्णय गरेको सचिव तेजबहादुर सुवेदीले बताए ।

कोभिड –१९ को प्रभाव न्यूनीकरणका लागि आवश्यक समन्वय गर्न मन्त्रालयका उपसचिव सुरेशचन्द्र आचार्यलाई तोकिएको र मातहत सबै कार्यालयमा एकएक सम्पर्क अधिकृत तोक्ने व्यवस्था मिलाइएको सचिव सुवेदीले बताए ।

प्रत्येक जिल्लामा एकएक सम्पर्क कार्यालय तोक्ने, उक्त कार्यालयले मन्त्रालयले तयार गरेको ढुवानी साधन व्यवस्थापन प्रणालीमार्फत ढुवानी साधनको परिचालन गर्न पास उपलब्ध गराउने र स्थानीय प्रशासन र सुरक्षा निकायसँंग समेत समन्वय गर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च