बैशाख १०, बुटवल ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका ७८ वर्षीय पुरुषमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ निवासी उनको बर्दघाटको चिसापानी अस्पतालमा दुईपटक सम्म र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी ) गर्दा पोजेटिभ देखिएपछि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्नको लागी पठाइएको थियो । उनको स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
र्यापिड टेस्टमा प्रदेश ५ मै पहिलोपटक पोजेटिभ देखिएको थियो, यहाँ जाँच गर्दा नेगेटिभ रिपोर्ट आयो,’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्र गिरीले भने । ती जेष्ठ नागरिकको परिवारका सबै सदस्यहरुको र्यापिड टेस्टको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
छातीमा समस्या आएपछि अस्पताल पुगेका उनी एक वर्ष पहिले अमेरिकाबाट फर्केका थिए । यसअघि पश्चिम नवलपरासीमा १ सय ३१ जनाको र्यापिड टेस्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।