बैशाख १६, गुल्मी ।
लकडाउनका कारण समस्यामा परेका १२ हजार २७० विपन्न परिवारलाई राहत वितरण गरिएको छ। दुई नगर र १० गाउँपालिका रहेको गुल्मीमा पहिलो चरणमा उक्त राहत घर घरमा गएर परिवारलाई वितरण गरिएको हो। केही स्थानीय तहले दोस्रो चरणको राहत वितरणको योजना बनाएका छन्। सबै स्थानीय तहले दोस्रो चरणमा पहिलेभन्दा धेरैलाई राहत वितरण गर्ने बताउँदै आएका छन्।
रेसुङा नगरपालिकाले पहिलो चरणमा १४ वडाका एक हजार ४९१ परिवारलाई राहत वितरण गरिसकेको छ। अब दोस्रो चरणमा तीन हजार परिवारलाई राहत वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए। त्यस्तै, मदाने गाउँपालिकाले ८२४ घर परिवारलाई राहत वितरण गरेको छ।
दोस्रो चरणमा एक हजार २२० विपन्न परिवारलाई राहत वितरणको योजना बनाएको गाउँपालिकाका सूचना अधिकारी क्रृषिराम पोख्रेलले बताए। मालिका गाउँपालिकाले पहिलो चरणमा ७७५ जनालाई राहत वितरण गरेकामा दोस्रो चरणमा एक हजार ७७३ परिवारलाई राहत प्रदान गर्ने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए।
यस्तै, पहिलो चरणमा मुसिकोट नगरपालिकाले दुई हजार २९७, धुर्कोट गाउँपालिकाले ७७५ र गुल्मी दरवार गाउँपालिकाले ७९२ परिवारलाई राहत वितरण गरेको छ। त्यस्तै, इस्मा गाउँपालिकाले एक हजार २४३, छत्रकोट गाउँपालिकामा ८१५, रुरु क्षेत्र गाउँपालिकामा ५८८, चन्द्रकोट गाउँपालिकामा ६८१, सत्यवति गाउँपालिकामा ७५२ र कालीगण्डकी गाउँपालिकामा एक हजार २३३ परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए।