
काठमाडौं ।
योगका आदिगुरु भगवान् शिवलाई मानिन्छ ।
योगका छरिएर रहेका आयामहरूलाई संकलित गरी प्रस्तुत गर्ने महर्षि पतञ्जलिले ‘योगसूत्र’ भन्ने पुस्तकमा भनेका छन् – योगश्चित्तवृत्ति निरोधः । अर्थात् चित्त वृत्तिको निरोध नै योग हो ।



यसबाट के बुझिन्छ भने योगको उद्देश्य चित्त वृत्तिहरूको निरोध हो । अर्थात् चित्त र वृत्तिलाई ठीक बाटोमा डो¥याउनु नै योग हो ।
योगले प्राकृतिक तरिकाले जीवन व्यतीत गर्न सहयोग गर्छ । आज संसारभर लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग, भक्तियोग आदि अनेक रूपमा हिन्दू, बौद्ध एवं जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो– जोड्नु ।
योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसँग सम्बन्धित गर्नसक्छ । शारीरिक एवं मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य आदि अनेकौं पक्षसँग यसको सम्बन्ध हुन्छ । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगका रूपमा बुझिन्छ ।
योग र ध्यानको फाइदा
आज विश्वले योगको महत्व बुझ्न थालेको छ । योगलाई शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिन्छ । आज यो योगाको नामले विश्वभर फैलिएको छ र थुप्रैले यसबाट लाभ लिइरहेका छन् । योग र ध्यानबाट निम्नलिखित फाइदा प्राप्त हुने कुरा आधुनिक चिकित्सापद्धतिले समेत स्वीकार गरेको छ–
–शारीरिक एवं मानसिक स्वास्थ्यलाभ
–कार्यक्षमता वृद्धि
–चिन्ताबाट छुटकारा
–रोग प्रतिरोधी क्षमतामा वृद्धि
–तन, मन र आत्मा बीचको लयात्मकता
–अनावश्यक विचारबाट मुक्ति
–सकारात्मक सोचको विकास
–ऊर्जाको केन्द्रीकरणबाट आन्तरिक शक्ति सञ्चार
–आत्मज्ञान प्राप्ति








