पाल्पा — रैनादेवी छहरा गाउँपालिकामा आयोजना गरिएको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महाकाली माध्यमिक विद्यालय, मेहलढापले उपाधि जितेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन भएको प्रतियोगितामा महाकाली माविले ८ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित कुल १६ पदक हात पारेको हो।
प्रतियोगितामा गंगा माध्यमिक विद्यालयले ५ स्वर्ण, ३ रजत र ५ कास्यसहित दोस्रो स्थान, भने भैरव नवदिप माध्यमिक विद्यालयले ४ स्वर्ण, ६ रजत र ४ कास्यसहित तेस्रो स्थान प्राप्त गरे।प्रतियोगितामा १४ विद्यालयका विद्यार्थीहरू सहभागी थिए, जसमा १२ माध्यमिक र २ आधारभूत विद्यालयका खेलाडीहरू थिए। उनीहरूले कबड्डी, ज्याभलिन थ्रो, रिले दौड, एकल दौड, भलिबल, हाइजम्प, लङ्ग जम्प, सटफुट लगायतका विभिन्न खेलमा प्रतिस्पर्धा गरेका थिए।



समापन समारोहमा गाउँपालिका अध्यक्ष रुक्मागंत भट्टराईले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए। अध्यक्ष भट्टराईले भने, “प्रतियोगिताले विद्यार्थी खेलाडीहरूलाई केवल व्यक्तिगत रूपमा मात्रै होइन, समाज र राष्ट्रको स्तरमा पनि चिनाउन मद्दत पुर्याउँछ। यसले सकारात्मक प्रतिस्पर्धा भावना विकास गराउने बताए ।
शिक्षा शाखा प्रमुख तेजबहादुर कुमालले विजेता खेलाडी र विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्दै प्रतियोगिता अनुशासित, मर्यादित र नियमपूर्वक सम्पन्न भएको जानकारी दिए। उनले प्रतियोगिताले विद्यालय र विद्यार्थीबीचको अन्तरसम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
खेलकुद संयोजक मान सिंह कुवँरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने शिक्षक, अभिभावक र स्थानीय समुदायलाई धन्यवाद व्यक्त गर्दै, आगामी वर्षहरूमा अझ बढी विद्यालयको सहभागिता र खेलकुदको गुणस्तर वृद्धिमा ध्यान दिने बताए।
प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्साहपूर्वक आफ्नो क्षमता प्रदर्शन गरे। कबड्डीमा दर्शकहरूको उत्साह झन् बढी थियो भने दौड र हाइजम्पमा विद्यार्थीहरूको प्रदर्शनले सबैलाई प्रभावित पार्यो। आयोजकले विजेताका लागि मात्रै होइन, भाग लिनु पनि महत्वपूर्ण भन्ने सन्देश दिन खोजेका थिए।
यसैगरी, प्रतियोगिताले विद्यार्थीलाई अनुशासन, समयको मूल्य र टीमवर्कको महत्त्व सिकाउने माध्यमको रुपमा काम गरेको आयोजकको भनाइ छ। महाकाली मावि र गंगा मावि बीचको प्रतिस्पर्धा विशेष उल्लेखनीय थियो, जहाँ दुबै विद्यालयका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरे।
शिक्षा शाखा प्रमुख तेजबहादुर कुमालले प्रतियोगिता अनुशासित र नियमपूर्वक सम्पन्न भएको जानकारी दिए। उनले यस्तो कार्यक्रमले विद्यालय र विद्यार्थीबीचको सम्बन्ध सुदृढ गर्न मद्दत गर्ने पनि बताए।








