काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँको चटारो सुरु भए पनि यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ । कृषि विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असार २२ गतेसम्म देशभर कुल धान रोपाइँ योग्य क्षेत्रफलको जम्मा ३२.३८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्ष (२०८२) को सोही अवधिसम्म देशमा ४५ प्रतिशत रोपाइँ भइसकेको थियो । प्राप्त तथ्याङ्क अनुसार यतिबेला सुदूरपश्चिम प्रदेशमा रोपाइँको उत्साह सबैभन्दा बढी देखिएको छ भने मधेस प्रदेश सबैभन्दा पछाडि परेको छ ।
कोशी प्रदेश: यस प्रदेशमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टर धान उत्पादन योग्य क्षेत्रफलमध्ये हालसम्म ८७ हजार ३३ हेक्टर (३१.५%) मा रोपाइँ सकिएको छ। गत वर्ष यस अवधिमा २९.५ प्रतिशत रोपाइँ भएको थियो।



मधेस प्रदेश: मधेस प्रदेशमा यो वर्ष रोपाइँ निकै सुस्त छ। ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमध्ये ६० हजार ३४६ हेक्टर (१५.६%) मा मात्र रोपाइँ भएको छ। गत वर्ष यसै अवधिमा यहाँ २५.१ प्रतिशत रोपाइँ भइसकेको थियो। बागमती प्रदेश: बागमतीमा १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ३८ हजार २६ हेक्टर (३३.२%) मा रोपाइँ सकिएको छ। गत वर्षको ५१.९ प्रतिशतको तुलनामा यो निकै कम हो। गण्डकी प्रदेश: यहाँ ९३ हजार ६ सय ६ हेक्टरमध्ये ३८ हजार ३ सय ८९ हेक्टर (४१.०%) मा रोपाइँ भएको छ। गत वर्ष यस अवधिमा ५५.६ प्रतिशत रोपाइँ भएको थियो। लुम्बिनी प्रदेश: ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमध्ये १ लाख १२ हजार ५ सय ९ हेक्टर (३७.३%) मा रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यहाँ ५२.१ प्रतिशत रोपाइँ भइसकेको थियो।
कर्णाली प्रदेश: कर्णालीका किसानले ४३ हजार २ सय ९० हेक्टरमध्ये १७ हजार ५ सय ४९ हेक्टर (४०.५%) क्षेत्रफलमा धान रोपिसकेका छन्। गत वर्ष यस अवधिमा यहाँ ७१.७ प्रतिशत उच्च रोपाइँ भएको थियो । सुदूरपश्चिम प्रदेश: धान रोपाइँमा यो वर्ष सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि छ। १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमध्ये ८९ हजार ७ सय ४२ हेक्टर अर्थात् ५७.९ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । यद्यपि, गत वर्षको तुलनामा (८२.८%) भने यो वर्ष यहाँ पनि रोपाइँको दर घटेको देखिन्छ ।
नेपालभर कुल १३ लाख ७० हजार ६२ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकोमा असार २२ गतेसम्म ४ लाख ४३ हजार ५ सय ९५.०९ हेक्टरमा मात्र धान रोपिएको छ । विज्ञहरूका अनुसार मनसुन भित्रिन लागेको ढिलाइ, केही स्थानमा समयमा वर्षा नहुनु र सिँचाइको असुविधाका कारण गत वर्षको तुलनामा यस वर्ष रोपाइँको प्रतिशतमा गिरावट आएको हो ।









