विष्णु घर्ती ‘भनभनेली’।
आज रसुवाबाट रसाएका यी आँखाहरू केवल रसुवावासीका मात्र होइनन् । यी आँखाहरू हामी सबैका हुन् । भोटेकोशीको पीडा केवल एउटा नदी किनारको पीडा होइन; यो हाम्रो साझा मानवीय संवेदनाको परीक्षा हो । के भन्ने, के लेख्ने ? के गर्ने, के नगर्ने ? यतिबेला मनमा यही प्रश्नहरू घुमिरहेका छन् । शब्दहरू निस्सासिएका छन् । आँखाअघि देखिएका दृश्यहरू पत्याउनै गाह्रो छ । केही दिनयता रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायतका क्षेत्रलाई पुर्याएको क्षतिका समाचार र दृश्यहरूले मन असाध्यै विचलित बनाएको छ । बाढीले घर, बस्ती, सडक, पुल, सरकारी तथा अन्य संरचना र जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरणहरू सार्वजनिक भएका छन् । तर मेरा लागि यो केवल समाचारमा देखिएको एउटा प्राकृतिक विपत्ति होइन । यो त सम्झनासँग जोडिएको ठाउँमा आएको अकल्पनीय पीडा हो । यसले सबैका आँखा रसाएका मात्र छैनन् रसुवाको बाढीजस्तै अश्रुधाराको पनि भेल नै आएको छ । २०७५/०७६ मा गल्छीदेखि रसुवागढीसम्म वर्षदिनभन्दा बढीको अवधिमा मैले पटक–पटक आउजाउ गर्ने अवसर पाएको थिएँ । त्यस क्रममा त्रिशूली र भोटेकोशी नदीका किनारैकिनार रहेका अनेक ठाउँसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध गाँसिएको थियो । ती ठाउँका गाउँ, घर, पाटी, प्रतीक्षालय, चौतारा, रूख, पुल, साँघु, बजार, टोल, होटल, पसल, कार्यालय, विद्यालय, मन्दिर, संस्था, जलविद्युत् आयोजना, खोल्सा, नेटा, थुम्का, बाटो, नाली र घुम्तीहरू आज पनि स्मृतिमा उत्तिकै ताजा छन् । त्यहाँका मानिसहरूसँग जोडिएका आत्मीय सम्बन्ध र कार्यालयीय जिम्मेवारीका क्रममा बनेका चिनजानहरू पनि सम्झनामा छन् । ती ठाउँहरू मेरा लागि केवल भौगोलिक नाम थिएनन्; तीसँग मानवीय सम्बन्ध गाँसिएका थिए । त्यही क्रममा टिमुरे र रसुवागढीको बीचमा रहेको सानो बस्ती–बजार घट्टेखोलामा अवस्थित अध्यागमन कार्यालयमा कार्यरत रहँदाका दिनहरू पनि स्मृतिमा छन् । त्यहाँका सहकर्मी, अन्य सरकारी कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा, व्यवसायी र विभिन्न सरोकारवालासँग बिताएका समयहरू आज झन् झल्झली सम्झना आइरहेका छन् । अहिले जब त्यही भूगोलका विनाशका दृश्यहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देख्छु, मनले बारम्बार प्रश्न गर्छ – के यो त्यही ठाउँ हो ? के साँच्चै त्यही टिमुरे हो ? त्यही बाटो, त्यही बजार, त्यही कार्यालय, त्यही नदी किनार हो ? कहिलेकाहीँ त सपना हो कि विपना जस्तो लाग्छ । भोटेकोशीमा आएको यो आकस्मिक बाढीले केवल भौतिक संरचनामा क्षति पुर्याएको छैन; यसले धेरै परिवारका सपना, जीविका, आशा र भविष्यमा पनि गहिरो चोट पुर्याएको छ । अझै धेरैको अवस्था यकिन हुन बाँकी रहेको, खोजी तथा उद्धार कार्य जारी रहेको र घाइतेहरूको उपचार भइरहेको समाचार आइरहेका छन् । त्यसैले यतिबेला क्षतिको अंकगणितभन्दा पनि मानिसको जीवन र सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने अवस्था हो । यस्तो विपत्तिका बेला दोषारोपणभन्दा उद्धार आवश्यक हुन्छ । बहस र विवादभन्दा राहत आवश्यक हुन्छ । सामाजिक सञ्जालमा अपुष्ट सूचना फैलाउनुभन्दा सही सूचना सम्प्रेषण आवश्यक हुन्छ । पीडितका दुःखलाई प्रदर्शनको विषय बनाउनुभन्दा उनीहरूको पीडामा साथ दिनु आवश्यक हुन्छ । त्यसैले अहिले हामी सबैले आफूले सक्ने ठाउँबाट सक्दो मानवीय सहयोग गरौँ । कसैले राहत सामग्रीमार्फत सहयोग गर्न सक्छौँ । कसैले खोज तथा उद्धारमा खटिएका निकायलाई सहयोग गर्न सक्छौँ । कसैले घाइतेको उपचारका लागि सहयोग गर्न सक्छौँ । कसैले सही सूचना प्रवाह गरेर परिवारलाई आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन सहयोग गर्न सक्छौँ । र कसैले कम्तीमा पनि पीडितहरूको दुःखप्रति संवेदनशील भएर उनीहरूको मनोबल बढाउन सक्छौँ । म पनि आफ्नो ठाउँबाट जेजस्तो सम्भव हुन्छ, सहयोग गर्नेछु । प्रकृतिको प्रकोप रोक्न नसकिएला, तर विपत्तिमा एकअर्काको हात समाउन त सकिन्छ । यसरी रसुवामा रसाएका आँखाहरूमा फेरि आशाको उज्यालो फर्कियोस् । बाढीले बगाएका घरसँगै नबगून् मानिसका सपना । बेपत्ता आफन्तहरू सकुशल भेटिऊन् । घाइतेहरू शीघ्र स्वस्थ होऊन् । र विपत्तिमा परेका सबै परिवारले फेरि आफ्नो जीवन उठाउन सकून् । भोटेकोशीको पीडामा सम्पूर्ण नेपाल एकसाथ उभिऔँ ।












