पाल्पा । तिनाउ गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले सञ्चालन गर्न लागेको “अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रम” यही असार १० गतेदेखि सञ्चालन हुँदैछ । गाउँपालिकाको तिनाउ गुणस्तरीय शैक्षिक विकास तथा साक्षरता सुधार परियोजना अन्तर्गत गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरिने भएको हो ।
विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न शिक्षक र विद्यालयको मात्र नभई अभिभावकको भूमिका समेत महत्वपूर्ण हुने भएकाले अभिभावकलाई सचेत, जिम्मेवार र सहयोगी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।



कार्यक्रममार्फत अभिभावकलाई बालबालिकाको पढाइप्रति चासो राख्ने, घरमा अध्ययनका लागि अनुकूल वातावरण निर्माण गर्ने, बालबालिकासँग सकारात्मक व्यवहार गर्ने, अनुशासन, संस्कार तथा नैतिक शिक्षाको विकासमा सहयोग गर्ने, विद्यालयसँग नियमित समन्वय गर्ने लगायतका विषयमा जानकारी प्रदान गरिनेछ ।
गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले शिक्षा क्षेत्रको गुणस्तर सुधार गाउँपालिकाको प्रमुख प्राथमिकताको विषय रहेको बताउँदै विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न विद्यालय, शिक्षक, अभिभावक र समुदायबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुने भएकाले अभिभावकलाई सचेत, जिम्मेवार र सहयोगी बनाउने उद्देश्यले “अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रम” सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।
उहाँले कार्यक्रमबाट अभिभावकहरूमा बालबालिकाको पढाइप्रति चासो बढ्ने, घरमा अध्ययनका लागि सकारात्मक वातावरण निर्माण हुने, बालबालिकाको व्यवहार, अनुशासन र संस्कार विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर थापाले शिक्षा क्षेत्रको विकासलाई स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारीका रूपमा लिएको बताउँदै विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति, सिकाइ वातावरण सुधार र अभिभावकीय जिम्मेवारी अभिवृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले आगामी दिनमा पनि शिक्षा क्षेत्र सुधारका लागि आवश्यक कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा प्रचलित शिक्षा सम्बन्धी नीति, योजना र कार्यक्रमले स्थानीय तहलाई शिक्षा क्षेत्रको विकास, व्यवस्थापन र गुणस्तर सुधारमा महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रही शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी योजनाबद्ध रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले स्थानीय तहको जिम्मेवारीअनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धि सुधार, विद्यालय व्यवस्थापनमा प्रभावकारिता वृद्धि तथा सरोकारवालाबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउँदै लगिने जानकारी दिनुभयो । आगामी दिनमा विद्यालयको आवश्यकता पहिचान, नियमित अनुगमन, मूल्याङ्कन तथा सुधारका लागि आवश्यक नीति, कार्यक्रम र पहललाई निरन्तरता दिइने बताउनुभयो ।
शिक्षा अधिकृत तथा सूचना अधिकारी लक्ष्मी कुँवरले शिक्षा शाखाको मुख्य लक्ष्य विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, विद्यालयको शैक्षिक वातावरण सुधार तथा अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको बताउनुभयो । उहाँले अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रमबाट अभिभावकहरूमा बालबालिकाको शिक्षाप्रति थप जिम्मेवारीबोध, विद्यालयसँगको समन्वयमा वृद्धि तथा घरमा सिकाइमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएको बताउनुभयो ।
उहाँले यस तालिमपश्चात् अभिभावकहरूले बालबालिकाको नियमित अध्ययन, विद्यालय उपस्थिती, गृहकार्य, अनुशासन तथा व्यवहार सुधारमा थप ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । साथै, अभिभावक र विद्यालयबीचको सहकार्य मजबुत भई विद्यार्थीहरूको सिकाइ उपलब्धि, आत्मविश्वास र समग्र शैक्षिक विकासमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।
तिनाउ गाउँपालिकाको आयोजना तथा नव किरण नेपाल, तानसेन–३ पाल्पाको सहजीकरणमा सञ्चालन हुने उक्त कार्यक्रम गाउँपालिकाका विभिन्न विद्यालयमा क्रमिक रूपमा सञ्चालन गरिनेछ ।








