पाल्पा । रिब्दीकोट गाउँपालिकाले शिक्षा सुधार अभियानलाई गाउँ–गाउँसम्म विस्तार गर्दै “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” अन्तर्गत सञ्चालन भइरहेको अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रमको दोस्रो चरण आज वडा नं. १ स्थित शारदा माध्यमिक विद्यालयमा हुँदैछ। बिहान ठीक १० बजेदेखि सुरु हुने कार्यक्रममा अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सर्वाङ्गीण विकास तथा विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई थप प्रभावकारी र जिम्मेवार बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरेको जनाएको छ। यसअघि वडा नं. ४ स्थित भैरव जनता माध्यमिक विद्यालयबाट कार्यक्रमको औपचारिक शुभारम्भ भएको थियो, जहाँ अभिभावक शिक्षा, बालमनोविज्ञान, अनुशासन र सकारात्मक अभिभावकत्वका विषयमा व्यापक छलफल भएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेष भुषालका अनुसार आज हुने कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेका छन्। उहाँले सम्बन्धित सबै पक्षलाई समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गर्दै शिक्षा सुधार अभियानमा सामूहिक सहभागिता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा अभिभावकको भूमिका, बालमैत्री व्यवहार, नैतिक शिक्षा, अध्ययनप्रति प्रेरणा, अनुशासन, सकारात्मक सोच तथा जिम्मेवार अभिभावकत्वका विषयमा अन्तरक्रियात्मक छलफल हुनेछ। साथै पछिल्लो समय बालबालिकामा बढ्दो मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको प्रभावका कारण देखिएका व्यवहारिक तथा मनोवैज्ञानिक चुनौतीबारे समेत सचेतनामूलक बहस हुनेछ।
गाउँपालिकाले “असल अभिभावकबाटै असल विद्यार्थी र सभ्य समाज निर्माण सम्भव हुन्छ” भन्ने मूल सन्देशसहित कार्यक्रमलाई सबै वडामा विस्तार गरेको जनाएको छ। स्थानीय तह, विद्यालय, अभिभावक र समुदायबीच सहकार्य र समन्वय बलियो बनाउँदै सामुदायिक विद्यालयप्रतिको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाइएको गाउँपालिकाको भनाइ छ।
गाउँपालिकाका अनुसार “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” अन्तर्गत सञ्चालन भइरहेको “अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रम” आगामी जेठ ४ गतेसम्म सबै वडामा हुनेछ। गाउँपालिकाले यस्ता सहभागितामूलक, व्यवहारिक तथा चेतनामूलक कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनुका साथै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ।











