पाल्पा । रिब्दीकोट गाउँपालिका वडा नं। ७, पालुङमैनादीमा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले खेलकुदको महत्वबारे मन्तव्य व्यक्त गर्दै युवामा अनुशासन, आत्मविश्वास र सामाजिक सद्भाव विकासमा खेलकुदको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए।उद्घाटन समारोहमा अध्यक्ष कार्कीले खेलकुदलाई स्वास्थ्य र राष्ट्र निर्माणको दृष्टिकोणबाट प्रोत्साहन गर्नुपर्ने बताए।
कार्यक्रमको आयोजनामा वडा अध्यक्ष दान बहादुर कुवँरले सहभागीहरूलाई स्वागत गर्दै प्रतियोगिता “स्वास्थ्यका लागि खेलकुद स् राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सुरु गरिएको जानकारी दिए। कुवँरले यस प्रतियोगिताले स्थानीय खेलकुद विकासमा मात्र होइन, स्थानीय प्रतिभा पहिचानमा पनि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।प्रतियोगिता चण्डिका भवानी आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित गरिएको थियो।



कार्यक्रममा वडा नं. ७ का जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, स्थानीयबासी र खेलाडीहरू उत्साहका साथ उपस्थित थिए। आयोजकहरूको भनाइ अनुसार, सहभागीहरूको उत्साह, समर्पण र खेलप्रतिको लगावले प्रतियोगिताको वातावरण अझै रमाइलो र प्रेरणादायी बनाएको छ।यस वर्ष प्रतियोगितामा ७ वटा समूहले सहभागिता जनाएका छन्।
सहभागी टोलीहरू स्थानीय स्तरका विभिन्न समुदाय र विद्यालयबाट आएका छन्। प्रतियोगिताको मुख्य उद्देश्य केवल विजेता छनोट गर्नु मात्र नभई, युवाहरूमाझ खेलकुदको रुचि बढाउनु, शारीरिक स्वास्थ्य सुधार गर्नु र सामूहिक सहभागिताबाट सामाजिक सद्भावको विकास गर्नु रहेको आयोजकहरूले जानकारी दिएका छन्।
प्रतियोगिताका क्रममा नियम, अनुशासन र खेल भावना पालना गर्नुमा जोड दिइएको छ। आयोजकहरूले भविष्यमा यस प्रकारका प्रतियोगिताहरूलाई नियमित रूपमा आयोजना गर्ने योजना रहेको बताएका छन्।
यसले स्थानीय खेलकुद विकासमा दीर्घकालीन योगदान पुर्याउने विश्वास लिइएको छ।प्रतियोगिताको उद्घाटनपछि सहभागी टोलीहरूबीच पहिलो खेल सुरु भएको छ। प्रत्येक खेलमा दर्शक र स्थानीयबासीको उत्साहजनक समर्थन रहेको थियो।








