पाल्पा। तिनाउ गाउँपालिका, पाल्पाको आयोजना तथा नवकिरण नेपाल पाल्पाको सहजीकरणमा सञ्चालित “अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रम” अन्तर्गत पहिलो कार्यक्रम आज तिनाउ गाउँपालिका वडा नं. १, कचलमा सम्पन्न भएको छ। शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, विद्यालय तथा अभिभावकबीचको सम्बन्ध सुदृढीकरण, विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार तथा समुदायको शैक्षिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
वडा नं. १ का वडा अध्यक्ष भुवनसिंह चिदीको अध्यक्षता, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



अगानिक एजुकेशनका प्रमुख तथा शिक्षण–सिकाइ अभियन्ता अर्जुन भट्टले सहजीकरण गर्नुभएको प्रशिक्षण सत्रमा गुणस्तरीय शिक्षा प्रवर्द्धन, विद्यालय सुधार, सिकाइ उपलब्धि अभिवृद्धि तथा शिक्षा क्षेत्रको समग्र विकासका विविध आयामबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले शिक्षा सुधार कुनै एक पक्षको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार तथा समुदायबीचको साझा सहकार्य र उत्तरदायित्व नै शैक्षिक गुणस्तर सुधारको आधार भएको बताउनुभयो ।
प्रशिक्षणका क्रममा विशेषगरी अभिभावकको भूमिका केन्द्रमा राखिएको थियो। आफ्ना बालबालिकाको नियमित अध्ययन, विद्यालय उपस्थितिको अनुगमन, अनुशासन, नैतिक आचरण, सकारात्मक व्यवहार निर्माण तथा भविष्यप्रति जिम्मेवार बनाउने कार्यमा अभिभावकको सक्रिय सहभागिता अपरिहार्य रहेको विषयमा सहभागीहरूलाई स्पष्ट रूपमा जानकारी गराइएको थियो। साथै विद्यालयसँग नियमित सम्पर्क, शिक्षकसँगको समन्वय, अभिभावक बैठकमा सहभागिता तथा घरमै सिकाइमैत्री वातावरण निर्माण गर्नुपर्ने विषयमा समेत विस्तृत छलफल गरिएको थियो ।
सहजीकरणका क्रममा विद्यार्थीहरूले आफ्नो अध्ययनप्रति जिम्मेवार बन्नुपर्ने, समयको सदुपयोग गर्नुपर्ने, अनुशासित व्यवहार प्रदर्शन गर्नुपर्ने तथा विद्यालयले प्रदान गरेका अवसरहरूको अधिकतम उपयोग गर्नुपर्ने विषयमा जोड दिइएको थियो। त्यसैगरी शिक्षकहरूले पेशागत मर्यादा कायम राख्दै सिकाइ प्रक्रियालाई प्रभावकारी, सहभागितामूलक तथा विद्यार्थीमैत्री बनाउनुपर्ने विषयमा समेत प्रकाश पारिएको थियो।
प्रशिक्षक भट्टले विद्यालयको समग्र सुधारका लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक तथा समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा उत्तरदायित्वको संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले गुणस्तरीय शिक्षा हासिल गर्न केवल भौतिक पूर्वाधार र लगानी मात्र पर्याप्त नहुने, त्यसका लागि सबै सरोकारवालाहरूको सोच, व्यवहार र कार्यशैलीमा समेत सकारात्मक परिवर्तन आवश्यक पर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा युवा वर्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरज कार्कीले स्वागत मन्तव्य व्यक्त राख्दै तिनाउ गाउँपालिकाले सञ्चालन गरेको अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रम समय सापेक्ष र आवश्यक कार्यक्रम रहेको बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै अभिभावक, विद्यालय र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले कार्यक्रममा सहभागी सम्पूर्ण अभिभावक, जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रशिक्षणबाट प्राप्त ज्ञान र सिकाइलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो।
त्यसैगरी आफ्नो भनाइ राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्त रास्कोटीले गुणस्तरीय शिक्षा हासिल गर्न विद्यालय, शिक्षक, अभिभावक तथा समुदायबीचको समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले प्रशिक्षणका क्रममा प्रस्तुत गरिएका विषयवस्तुहरू व्यवहारिक तथा उपयोगी रहेको उल्लेख गर्दै अभिभावकहरूले आफ्ना बालबालिकाको अध्ययन, अनुशासन तथा समग्र विकासमा थप चासो दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। यस्ता कार्यक्रमले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न, अभिभावकको जिम्मेवारीबोध बढाउन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उहाँले प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई दैनिक व्यवहारमा लागू गर्न सम्पूर्ण सहभागीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले पाल्पा जिल्लामै शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी गर्ने पालिकामध्ये तिनाउ गाउँपालिका अग्रस्थानमा रहे पनि अपेक्षित शैक्षिक उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्नुभयो। उहाँले शैक्षिक सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी तथा सबै सरोकारवाला आ–आफ्नो जिम्मेवारीप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफल नागरिकले प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने बताउनुभयो। उहाँले प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरेको जानकारी दिनुभयो। आधुनिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले आफ्ना बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि अभिभावकहरू थप जिम्मेवार र सचेत बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको अन्तरक्रिया सत्रमा सहभागीहरूले शिक्षा सुधारका लागि विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए। विद्यार्थी हेमन्त पुनले विद्यालय सुधारमा अभिभावकहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै अभिभावकहरूले नियमित रूपमा विद्यालयमा उपस्थित भई सुझाव र सहयोग प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। अभिभावक मिना छहरीले विद्यालयको शैक्षिक अवस्था सुधारमा अभिभावकहरूको निष्क्रियता पनि एक कारण रहेको उल्लेख गर्दै आगामी दिनमा सबै अभिभावक सक्रिय बन्नुपर्ने बताउनुभयो। त्यसैगरी शिक्षक कर्णबहादुर उचाईले कार्यक्रमले अभिभावक, शिक्षक र विद्यार्थीबीचको त्रिपक्षीय सहकार्यलाई थप मजबुत बनाएको बताउँदै सिकेका विषयहरू व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।
कार्यक्रमको समापन गर्दै वडा नं. १ का वडा अध्यक्ष भुवनसिंह चिदीले सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक उपलब्धि सुधार गर्न सबैले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रमको सञ्चालन नवकिरण नेपाल पाल्पाका प्रमुख दिपक भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरू गरी कुल १७० जनाको उत्साहजनक सहभागिता रहेको थियो।
यस कार्यक्रमलाई तिनाउ गाउँपालिकाले आगामी दिनहरूमा अन्य वडाहरूमा समेत विस्तार गर्ने योजना अनुरूप दोस्रो चरणको कार्यक्रम भोलि वडा नं. ४ मा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। समुदाय, विद्यालय र अभिभावकबीचको सहकार्यलाई सुदृढ बनाउँदै गुणस्तरीय शिक्षाको आधार निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमबाट विद्यालय सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।








