पाल्पा । माथागढी गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक माथागढी शाखाको आयोजनामा तथा माथागढी गाउँपालिकाको समन्वयमा ५० जना विद्यार्थीलाई झोला वितरण गरिएको हो।
कार्यक्रमअन्तर्गत गाउँपालिका भित्र रहेका ४ वटा सामुदायिक विद्यालयका आर्थिक रूपमा कमजोर तथा अध्ययनमा सक्रिय बालबालिकालाई झोला प्रदान गरिएको छ। साथै ती विद्यालयहरूलाई शुद्ध खानेपानीको पहुँच सहज बनाउन प्रत्येक विद्यालयलाई १\१ थान वाटर डिस्पेन्सर समेत हस्तान्तरण गरिएको छ।



झोला वितरण कार्यक्रम वडा नं. ५ स्थित हात्तिलुङ माध्यमिक विद्यालय, वडा नं. ६ स्थित ग्रामोदय माध्यमिक विद्यालय, वडा नं. ७ स्थित सिद्धार्थ माध्यमिक विद्यालय र वडा नं. ४ स्थित किसान माध्यमिक विद्यालयका गरी ५० जना विद्यार्थीलाई लक्षित गरिएको थियो। यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
कार्यक्रममा बोल्दै माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत गाउँपालिकाको सिफारिसअनुसार शैक्षिक सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल वृद्धि हुनुका साथै शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने उल्लेख गर्नुभयो। बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई झोला तथा विद्यालयहरूलाई वाटर डिस्पेन्सर प्रदान गरिएकोप्रति अध्यक्ष चिदीले प्रशंसा गर्नुभयो।
अध्यक्ष चिदीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पालिकाको सिफारिसअनुसार सामाजिक उत्तरदायित्वभित्र रहेर शैक्षिक सामग्री सहयोग गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा शिक्षा मात्र नभई स्वास्थ्य, सरसफाइ तथा सामाजिक विकासका अन्य क्षेत्रमा पनि सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रमले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन सहयोग पुगेको स्थानीय अभिभावकहरूको भनाइ छ। विद्यार्थीहरू आवश्यक शैक्षिक सामग्री पाएपछि उत्साहित देखिएका थिए। बैंक–पालिका सहकार्यबाट समुदायस्तरमा सकारात्मक सन्देश गएको र भविष्यमा यस्ता कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको छ।








