पाल्पा, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार समावेशीता तथा सामाजिक सचेतनाका लागि नगरस्तरीय परामर्श कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । साहसी कदम नेपालले रामपुर नगरपालिकाको समन्वयमा सचेतनाका लागि परामर्श कार्यक्रम सञ्चालन गरेको हो ।
रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम साहसी कदम नेपालका अध्यक्ष हसिना क्षेत्रीको अध्यक्षता र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकार संविधान मै व्यवस्था भए पनि सचेतनाको अभावमा अझै पनि खुल्न नसक्दा समस्या देखिएको बताउनुभयो ।



समाजमा रहेको पूर्वाग्रह घटाउन र आपसी समझदारी बढाउन समुदाय स्तरसम्म सचेतनाको आवश्यक रहेको बताउनुभयो । नगरपालिकाले आगामी दिनमा पनि समावेशी नीति तथा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रमुख बाल कुमारी थापाले समुदायमा रहनु भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु समाजको डरको कारण अझैपनि खुल्न नसकेको बताउनुभयो । समुदायको हितका लागि नीतिगत व्यवस्था सहित कार्यान्वयनका लागि बजेट र कार्यक्रमको व्यवस्था गर्दै आएको बताउनुभयो ।
यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको उत्थान र सहज रुपमा खुलेर जिउने वातावरण बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । साहसी कदम नेपालका अध्यक्ष हसिना क्षेत्रील यौनिक तथा अल्पसंख्यकका लागि फरक नीतिगत व्यवस्था सहित कार्यान्वयनको पक्ष बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । समाजको डरले यौनिक अल्पसंख्यक समुदायका व्यक्ति खुल्न नचाहेको बताउँदै समुदाय स्तर सम्म यौनिक अल्पसंख्यक समुदायको बारेमा सचेतना जगाउन आगामी दिनमा थप कार्यक्रम गरिने बताउनुभयो ।
साहसी कदम नेपाल प्रविधिक सल्लाहाकार रेशम न्यौपानेले यौनिकता तथा लैङ्गिक अल्पसंख्यक फरक नभै पृथक भएको बताउनुभयो ।उहाँले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वर्तमान अवस्था, पहिचान, राज्यले व्यवस्था गरेको अधिकार, समस्या र चुनौतीको विषयमा जानकारी गराउनु भएको थियो । अधिकार मागेर नभै लडेर ल्याउनु पर्ने अवस्था रहेको बताउनुभयो । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय आफ्नो पहिचान खुलाउन समाज संघ भन्दा पनि परिवार संगै संघर्ष गर्नु पर्ने अवस्थामा रहेको बताउनुभयो ।संविधानमा उल्लेख भएपनि नागरिकता लिन जादा मेडिकल सर्टिफिकेट माग्नु, नागरिकता भएता पनि सरकारी स्तरमा आरक्षणको कोटा नहनु, विभिन्न स्वास्थ्य संघ संस्थामा उपचारमा विभेद र लाञ्छाना, यौनअंग शल्यक्रियाको वातावरण नहुनु मुख्य चुनौती रहेको बताउनुभयो ।
साहसी कदम नेपालका जिल्ला संयोजक जिज्ञाशा चौधरीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशासिनिक अधिकृत सुरज थापाले गर्नु भएको हो । कार्यक्रममा कार्यक्रममा अभियन्ताहरु संगै, रामपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।








