रूपन्देही । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर संसदबाट बोल्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् ।
कांग्रेसको जरा अभियानको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई सोमबार रुपन्देहीमा सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको अखण्डतालाई खण्डित गरेको भन्दै संसदबाटै माफी माग्न आग्रह गरे ।



‘प्रधानमन्त्रीको भनाइले जनता र प्रधानमन्त्री बनाउने मतदातालाई लज्जित गराउने अनैतिक र अराजनीतिक कदमको कांग्रेसले विरोध गर्छ’ सभापति थापाले भने, ‘संसदको रोस्टममा मैले नजानेर गल्ती बोले भनेर माफी माग्नुस् । त्यसमा कांग्रेसले कुनै अवरोध गर्ने छैन ।’
प्रधानमन्त्री नबुझेर बोलेको भए चिन्ताजनक र जानीजानी बोलेको भए खतरनाक रहेको उनको भनाइ छ । संविधान, कानुन र राष्ट्रभन्दा माथि कोही नभएको सभापतिको धारणा छ ।
थापाले सत्तापक्षले आइतबार पेलेर नियमावली बनाउनु कालो दिन भएको बताए । संसद सञ्चालन गर्न बनाएको कानून जवरजस्ती गलत भएको बताए ।
कांग्रेस हिजोको जस्तो छैन नयाँ ट्रयाकमा गइसकेको बताए । मतदाताले पार्टीमा जनता र मतदाताले देखेको फोहोर फाल्नुपर्ने बताएका छन् । पार्टीलाई विश्वास नगरेका दश लाख मतदाताको मन फर्काउन उनीहरुले देखेको फोहोर फाल्न तयार हुनुपर्ने बताए ।









