पाल्पा, तानसेन नगरपालिका वडा नं. ६ कार्यालयले जेष्ठ नागरिक तथा विभिन्न लक्षित वर्गप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको छ । वडाभित्र रहेका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा, एकल महिला, अपाङ्गता भएका व्यक्ति (क, ख र ग वर्ग) तथा दीर्घरोगी गरी ४ सय १९ जनालाई सम्मान गरिएको उक्त कार्यक्रम सामाजिक सद्भाव, पुस्तान्तरण र समुदायबीचको सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ सम्पन्न भएको हो ।
कार्यक्रममा पुरानो पुस्ताका अनुभव र जीवनका सिकाइ नयाँ पुस्ता अर्थात् जेन–जी र जेन–वाई सम्म पुर्याउने विशेष सत्र पनि समावेश गरिएको थियो । सम्मानित व्यक्तित्वहरू पूर्णमाया महर्जन, टिकाराम बस्याल, रेवती विष्ट तथा द्वारिका प्रसाद नेपालले आफ्ना जीवनका संघर्ष, अनुभव, समाज परिवर्तनका कथा तथा विगत र वर्तमान पुस्ताबीचको सोचमा आएको परिवर्तनबारे आफ्ना धारणा राख्नुभयो। उहाँहरूले पुराना पुस्ताले आत्मसात् गरेका अनुशासन, इमानदारी, श्रम र सामाजिक उत्तरदायित्वका मूल्यलाई आधुनिक पुस्ताले पनि आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले वडा नं. ६ ले समाजका सम्मानित तथा संरक्षणको आवश्यकता भएका वर्गलाई समेटेर उदाहरणीय कार्यक्रम सञ्चालन गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले जेष्ठ नागरिक समाजका जीवित इतिहास भएको उल्लेख गर्दै उनीहरूको अनुभवलाई पुस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले स्थानीय सरकारले सामाजिक सुरक्षा र सम्मानका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।



कार्यक्रमको अध्यक्षता गर्नुभएका वडा नं. ६ का अध्यक्ष सागरमान महर्जनले वडाले हरेक वर्ष जेष्ठ नागरिक तथा लक्षित वर्गलाई सम्मान गर्ने परम्परा कायम राख्दै आएको जानकारी दिनुभयो । उहाँले सम्मान कार्यक्रम औपचारिकतामा मात्र सीमित नभई समाजमा योगदान पुर्याएका व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा लिइएको बताउनुभयो । आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र सहभागितामूलक बनाइने उहाँको भनाइ थियो ।तानसेन नगरपालिकाका सामाजिक शाखा प्रमुख कौशलराज घिमिरेले वडा नं. ६ सामाजिक उत्तरदायित्वका क्षेत्रमा सधैं अग्रणी रहँदै आएको उल्लेख गर्दै स्थानीय तहले सामाजिक समावेशीकरण र मानव केन्द्रित विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य गोमा गैरेले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसैगरी सहजकर्ता गोकुल थापाले विद्युतीय सामग्रीको सुरक्षित प्रयोग, यसको उपयोगिता, सम्भावना तथा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारीमूलक अनुशिक्षण दिनुभयो । उहाँले बढ्दो विद्युतीय उपकरणको प्रयोगसँगै सुरक्षा सचेतना पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको विशेष आकर्षणका रूपमा जय प्रकाश उप्रेतीको भजन टोलीले करिब तीन घण्टासम्म भजनकीर्तन प्रस्तुत गरेको थियो । सुमधुर भजन, धार्मिक वातावरण र सांगीतिक प्रस्तुतिले सभाहल नै गुञ्जायमान बनेको थियो । सहभागी जेष्ठ नागरिकहरू भजनको तालमा रमाउँदै नाचेका थिए भने बीच–बीचमा भएका हास्यव्यङ्ग्यपूर्ण संवादले कार्यक्रमलाई थप जीवन्त र उल्लासमय बनाएको थियो । धेरै सहभागीहरूले लामो समयपछि यति आत्मीय वातावरणमा सहभागी हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए ।
वडा सचिव विशाल ओलीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा सदस्यहरू गोमा गैरे, रेखा विष्ट, दीर्घ सिंह थापा, सस्मिता गहतराज, कार्यपालिका सदस्य दिनेश गन्धर्व, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको समापनमा सम्मानित सबै ४१९ जनालाई पाँच लिटर क्षमताको विद्युतीय किटली वितरण गरिएको थियो । सम्मानसँगै उपयोगी सामग्री प्रदान गरिएकाले सहभागीहरूले वडा कार्यालयप्रति आभार व्यक्त गरेका थिए । स्थानीयवासीहरूले वडा नं. ६ को यस सामाजिक तथा मानवीय पहलले जेष्ठ नागरिक र लक्षित वर्गप्रति सम्मानको भावना अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभएको छ ।









