पाल्पा । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिँदै पाल्पाको तिनाउ गाउँपालिकाले विनियोजित बजेटसमेत कटौती गरी विपद् प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेको छ ।तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले विपद्को कठिन अवस्थामा अनावश्यक तथा मनोरञ्जनात्मक खर्चलाई प्राथमिकतामा नराखी नागरिकको दुःखमा साथ दिन गाउँपालिकाले आफ्नो स्रोत परिचालन गर्ने निर्णय गरेको बताउनुभयो।
गाउँपालिकाले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि कुल ३२ लाख ९४ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाका अनुसार उक्त रकममध्ये विपद् व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँ, हरितालिका तीज कार्यक्रमलगायतका शीर्षकमा विनियोजित बजेटबाट ४ लाख रुपैयाँ र तिनाउ गाउँपालिकामा कार्यरत जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको पारिश्रमिकबाट २५ लाख ९४ हजार रुपैयाँ जुटाइएको छ ।यसरी जम्मा भएको ३२ लाख ९४ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा राप्ती जिल्लाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण राप्ती जिल्ला लगायत नदीमार्गमा पर्ने नुवाकोट, धादिङ तथा चितवनलगायतका जिल्लाका तटीय क्षेत्रका बजार, बस्ती तथा भौतिक पूर्वाधारमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
बाढीका कारण ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति गाउँपालिकाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै बाढीबाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र पुनःस्थापनाको कामना गरिएको छ ।
सम्पर्कविहीन रहेका नागरिकको सकुशल फिर्तीको कामना गर्दै गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सम्बन्धित निकायसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ।
गाउँपालिकाले विपद्को समयमा उद्धार, राहत र पुनःस्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन सबै सम्बन्धित निकायसँग समन्वय र सहकार्यका लागि गाउँपालिकाले आग्रह गरेको छ।
तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारू र अध्यक्ष प्रेम श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत गाउँपालिकाले उक्त निर्णय सार्वजनिक गरेको हो।विपद्को समयमा उत्सव र मनोरञ्जनभन्दा नागरिकको जीवन, उद्धार र राहतलाई प्राथमिकता दिने तिनाउ गाउँपालिकाको निर्णयले स्थानीय तहको बजेट जनताको दुःखमा समेत परिचालन हुनुपर्छ भन्ने सन्देश दिएको छ ।












