बुटवल । बुटवलस्थित एभरेस्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयमा आयोजित सांस्कृतिक कार्यक्रममा बालक–बालिकालाई बेहुला–बेहुलीको भेषमा विवाह मञ्चन गराइएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि विद्यालय शिक्षाको अभ्यासबारे बहस सुरु भएको छ। विद्यालय क्षेत्रमै वैदिक मन्त्रोच्चारणसहित कन्यादान गरिएको दृश्य सार्वजनिक भएपछि यसले बाल अधिकार र बाल मानसिक स्वास्थ्यमा पर्ने प्रभावबारे प्रश्न उठाएको हो।
विद्यालयले नेपाली संस्कार चिनाउने उद्देश्यले सांस्कृतिक महोत्सवमा नाटक प्रस्तुत गरिएको दाबी गरे पनि साना बालबालिकालाई विवाह संस्कारको भूमिकामा उतारिनु अनुचित भएको भन्दै आलोचना भइरहेको छ। आलोचकहरूले पाठ्यक्रम बाहिरका विषय विद्यार्थीलाई सिकाउँदा उनीहरूको मनोसामाजिक अवस्थाप्रति विद्यालयले संवेदनशीलता नदेखाएको आरोप लगाएका छन्।



भिडिओ व्यापक रूपमा फैलिएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन जिल्ला कार्यसमिति रूपन्देहीले विज्ञप्ति जारी गर्दै विद्यालयस्तरमा हुने सामाजिक तथा सांस्कृतिक गतिविधि बालमैत्री र अधिकार–संवेदनशील हुनुपर्ने जनाएको छ। प्याब्सनले विद्यालयहरूलाई यस्ता कार्यक्रम सञ्चालन गर्दा बाल अधिकार र मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।
के छ कानुनी प्रावधान ?
बालअधिकार ऐन, २०७५ ले बालबालिकालाई हानिकारक परम्परा, अभ्यास वा गतिविधिमा संलग्न गराउन नपाइने व्यवस्था गरेकाे छ । उक्त ऐनमा बालबालिकाको शारीरिक, मानसिक, नैतिक र मनोवैज्ञानिक विकासमा असर पार्ने कार्य निषेध गरिएकाे छ । विद्यालयमा गरिएको विवाह मञ्चन बालमनोविज्ञानमा असर पार्ने, समयअगावै वयस्क भूमिका थोपर्ने र बालविवाहप्रति संवेदनशीलता घटाउने खालको भएकाले यो कानुन विपरित भएकाे प्रष्ट छ ।
नेपालको प्रचलित कानुनअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु वा गराउनु अपराध हो । यहाँ प्रश्न ‘वास्तविक विवाह’ भयो कि ‘नाटक’ भयो भन्ने होइन, प्रश्न बालविवाहलाई सामान्य बनाउने सन्देश गयो कि गएन भन्ने हो । कानुनले आशय र प्रभाव दुवैलाई महत्व दिन्छ । विद्यालयको मञ्चनले बालविवाहलाई स्वीकार्य बनाउने सन्देश दिएको छ भने त्यसमा कानुनी उत्तरदायित्व स्वतः जोडिन्छ । त्यसैले “यो त नाटक मात्र हो” भन्ने बचाउ कानुनका दृष्टिमा कमजोर तर्क हो । कानुनले कार्यको नामभन्दा प्रभावलाई महत्व दिन्छ । यदि कसैले बालविवाहलाई सामान्य बनाउँछ, बालबालिकालाई विवाहको भूमिकामा अभ्यास गराउँछ र समाजमा गलत सन्देश प्रवाह गर्छ भने त्यसलाई “नाटक” भनेर कानुनी जिम्मेवारीबाट उम्कन सकिँदैन । यस घटनामा साना बालबालिकालाइ दुलाहा–दुलही बनाइएको छ । जग्गे, विधि, भेषभूषा प्रयोग गरिएको छ । वास्तविक अभिभावकसमेत सहभागी गराइएकाे छ । यी सबै कुराले यसलाई बालविवाहलाइ प्रसय दिएकाे प्रष्ट छ । यसले कानुनलाइ चुनाैती दिएकाे ठहर्छ ।
कानुनले बालबालिकाको हितलाई सर्वोपरि राख्ने प्रावधान गरेको छ। यस घटनामा बालबालिकालाई वास्तविक विवाहको हकमा नभए पनि दुलाहा-दुलहीको भूमिका दिने, विधि, भेषभूषा, अभिभावकसमेत सहभागी गराउने कार्यले बालबालिकालाई सामाजिक र कानुनी दृष्टिले संवेदनशील बनाएको छ। ‘यो त नाटक मात्र हो’ भन्ने तर्क कानुनी दृष्टिले कमजोर छ, किनभने कानुनले कार्यको प्रभाव र सन्देशलाई बढी महत्व दिन्छ।
बालबालिका अभिनय मात्र गर्दैनन्, उनीहरूले त्यसलाई आत्मसात् पनि गर्छन् । विवाह जस्तो गम्भीर विषयमा दुलाहा–दुलहीको भूमिकामा उभ्याइएका बालबालिकाको मनमा त्यसको अर्थ, भाव र सामाजिक अपेक्षा गहिरो रूपमा बस्न सक्छ । साथीभाइको जिस्क्याइ, सामाजिक पहिचानको दबाब, र समयअगावै ‘वयस्क भूमिका’ को अनुभूति बालमनोविज्ञानका लागि हानिकारक हुन सक्छ । शिक्षा बालबालिकालाई सुरक्षित बनाउने माध्यम हुनुपर्नेमा यहाँ उनीहरूलाई जोखिमपूर्ण प्रयोगको वस्तु बनाइएको देखिन्छ ।









