पाल्पा — स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन अन्तर्गत सार्वजनिक गरिएको अन्तिम नतिजामा पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। सिंहदरबार, काठमाडौंस्थित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश सरकार तथा स्थानीय तहहरूको कार्यसम्पादनका आधारमा प्रदान गरिने अंकसम्बन्धी विवरण सार्वजनिक गरेको हो।
सरकारले आर्थिक वर्ष २०८२र८३ का लागि प्रदान गर्ने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन सूचकका आधारमा प्रदेश सरकार र स्थानीय तहहरूले प्राप्त गरेको अंकको अन्तिम नतिजा आयोगले माघ २३ गते सार्वजनिक गरेको हो। आयोगका अनुसार प्राप्त विवरणको पुनरावलोकन तथा आवश्यक प्रक्रिया पूरा गरेपछि अन्तिम परिणाम सार्वजनिक गरिएको जनाएको छ।



प्रतिवेदनअनुसार गाउँपालिकाले संस्थागत व्यवस्थापन, प्रशासनिक क्षमता तथा सेवा प्रवाहसँग सम्बन्धित प्रारम्भिक सूचकहरूमा राम्रो प्रदर्शन गर्दै पूर्ण अंक प्राप्त गरेको देखिन्छ। केही सूचकहरूमा मध्यम प्रगति देखिए पनि अन्य सूचकहरूमा सुधारको सम्भावना अझै रहेको उल्लेख गरिएको छ।
स्थानीय सरकारको प्रभावकारी सेवा प्रवाह, विकास निर्माणका कामहरूमा देखिएको सक्रियता तथा सुशासनप्रतिको प्रतिबद्धताका कारण पालिकाले राम्रो अंक प्राप्त गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले बताउनुभयो।
आयोगले स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन गर्दा १७ वटा सूचकलाई आधार मानेको छ। ती सूचकहरू यस प्रकार छन्:
१. गाउँ/नगर कार्यपालिकाले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगरसभामा पेश गरेको अवस्था।
२. गाउँ/नगर कार्यपालिकाले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान गाउँसभा/नगरसभाबाट पारित गरेको अवस्था।
३. स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा उठेको घरजग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापतको रकम प्रदेश सरकारलाई तोकिएको समयमा दाखिला गरेको अवस्था।
४. स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय प्रक्षेपण सम्बन्धी विवरण अर्थ मन्त्रालयमा पेश गरेको अवस्था।
५. स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको वार्षिक समीक्षा तथा तत्सम्बन्धी विवरण सार्वजनिक गरेको अवस्था।
६. स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र राजस्व परिचालन गरेको अवस्था।
७. स्थानीय तहले प्राप्त वित्तीय हस्तान्तरणको उपयोग तथा खर्चको अवस्था।
८. आर्थिक वर्ष २०८०/८१ को कुल बेरुजु रकमको फर्छ्यौटको अवस्था।
९. स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SUTRA) को प्रयोग गरिएको अवस्था।
१०. स्थानीय तहले आन्तरिक राजस्व संकलन गरेको अवस्था।
११. शैक्षिक सत्र २०८१ मा कक्षा १ देखि ८ सम्मका विद्यार्थीको टिकाइदर।
१२. शैक्षिक सत्र २०८१ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाइदर।
१३. शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयका कक्षा १० को परीक्षामा उच्च GPA प्राप्त गर्ने विद्यार्थीको प्रतिशत।
१४. आर्थिक वर्ष २०८१/८२ मा एक पटक गर्भ जाँच गर्ने महिलाको अनुपात।
१५. आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सुत्केरी हुने महिलाको अनुपात।
१६. आर्थिक वर्ष २०८१/८२ मा सुरक्षित खानेपानीको पहुँच भएको घरपरिवारको अनुपात।
१७. आयोजनाको विद्युतीय अनुगमन प्रणाली (E-Monitoring) मा कार्यसम्पादन सम्बन्धी विवरण प्रविष्ट गरिएको अवस्था।
प्रकाशित विवरण अनुसार रैनादेवी छहरा गाउँपालिकाले सूचक १ देखि ५ सम्म पूर्ण ५/५ अंक प्राप्त गरेको छ। त्यसैगरी सूचक ६ मा १३ अंक, सूचक ७ मा ६.९६८ अंक, सूचक ८ मा ११.५१७ अंक, सूचक ९ मा ५ अंक र सूचक १० मा ३ अंक प्राप्त गरेको देखिएको छ।
त्यस्तै सूचक ११, १२, १३, १४ र १५ मा शून्य अंक प्राप्त भएको छ भने सूचक १६ मा ०.८६३ अंक र सूचक १७ मा ६ अंक प्राप्त गर्दै गाउँपालिकाले कुल ६६.७६ अंक हासिल गरेको आयोगले जनाएको छ।
यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले आयोगले सार्वजनिक गरेको नतिजालाई सकारात्मक रूपमा लिएको बताउनुभयो। “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा रैनादेवी छहरा गाउँपालिकाले ६६.७६ अंक प्राप्त गर्नु सकारात्मक उपलब्धि हो,” उहाँले भन्नुभयो। “गाउँपालिकाले प्रशासनिक तथा संस्थागत सूचकहरूमा राम्रो प्रदर्शन गरेको छ। आगामी दिनमा बाँकी सूचकहरूमा सुधार गर्दै नागरिकलाई अझ प्रभावकारी सेवा प्रदान गर्ने दिशामा काम गरिनेछ।”
स्थानीय तहको समग्र मूल्यांकनले गाउँपालिकाको संस्थागत क्षमता, विकास कार्यक्रमको प्रभावकारिता र सेवा प्रवाहको अवस्थालाई प्रतिबिम्बित गर्ने भएकाले यसलाई आगामी योजना निर्माणका लागि महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।
आयोगले सार्वजनिक गरेको विवरणमा पाल्पा जिल्लाका विभिन्न स्थानीय तहहरूले फरक–फरक अंक प्राप्त गरेका छन्।
रैनादेवी छहरा गाउँपालिकाले स्थानीय सरकारको कार्यसम्पादन अझ सुदृढ गर्दै नागरिकलाई गुणस्तरीय तथा जनतामुखी सेवा प्रदान गर्ने लक्ष्यका साथ आगामी दिनमा थप प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरिएको छ।








