पाल्पा, रामपुर नगरपालिका वडा नं. ८ मा तीन दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । रामपुर नगपालिका ८ नं. वडा कार्यालयको आयोजनामा गत शुक्रबार देखि सुरु भएको तालिम आइतबार सम्पन्न भएको हो ।
वडाले वडा भित्रका लक्ष्यित वर्ग महिला, युवा, बालबालिका, आदिबासी जनजाति, अपाङ्गता भएका नागरिक तथा अल्पसंख्यकहरुलाई तालिम प्रदान गरेको हो । तालिम समापन कार्यक्रम रामपुर नगरपालिका ८ का वडा अध्यक्ष दिनेश आचार्यको अध्यक्षता र रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको हो ।



तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै प्रमुख अतिथी थापाले तालिमले सिप विकास संगै लक्ष्यित समुदायको सशक्तिकरणमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । तालिम लिइसकेपछि सिकेका सिपलाई व्यवहारमा लागु गर्न शुभकामना दिनुभयो । रामपुर नगरपालिका ८ का वडा अध्यक्ष दिनेश आचार्यले लक्ष्यित वर्गको नेतृत्व तथा क्षमता विकासका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व वडा अध्यक्ष बोमबहादुर नाम्जालीले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्दै अघि बढ्न आग्रह गर्नुभयो । गंगा माध्यामिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले अभ्यासलाई निरन्तरता दिन सके मात्र तालिमले सार्थकता प्राप्त गर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण पौडेल, नेपाली कांग्रेसका वडा सभापति राजेन्द्र अर्याल, नेकपा एमाले वडा कमिटी अध्यक्ष शिव अधिकारी, आदिवासी जनजाति महासंघ वडा नं. ८ का अध्यक्ष चन्द्रबहादुर थापा, अपाङ्गता समन्वय समिति मैत्री संघका देवीलाल अधिकारी, प्रशिक्षक बन्दना पोखरेल, सहभागी सावित्री रामजाली र दिपु ढुङगाना लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
गंगा माविको सभाहलमा भएको तालिममा वडा नं. ८ भित्रका ६५ जनाको सहभागीता रहेको थियो । तालिमको सहजिकरण पत्रकार बन्दना पोखरेल, वडा सचिव बासुदेव ढकाल, पत्रकार सीता डोटेल र रमा भण्डारीले गर्नु भएको थियो । वडा सदस्य विष्णुमाया गैरेको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो ।








