पाल्पा — लुम्बिनी प्रदेश सरकारको लगानीमा तिनाउ गाउँपालिका–२ मा निर्माण गरिएको ‘नुवाकोट सांस्कृतिक डबली’ सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी अब तिनाउ गाउँपालिकाले पाएको छ। प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उक्त डबली १० वर्षका लागि गाउँपालिकालाई हस्तान्तरण गरेको हो।
मंगलबार पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठलाई सम्झौता पत्र हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यको समेत विशेष उपस्थिति रहेको थियो।



गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार अब डबलीलाई सांस्कृतिक गतिविधिको प्रमुख केन्द्रका रूपमा विकास गरिनेछ। यहाँ लुम्बिनी प्रदेशको पहिचान झल्किने लोकसंस्कृति, मौलिक लोकगीत, लोकनृत्य, लोकनाटक तथा विभिन्न जातजातिका सांस्कृतिक सम्पदाको प्रदर्शन गरिनेछ। साथै सामाजिक जागरण, कुसंस्कार तथा अन्धविश्वास विरुद्धका अभियान, युवा लक्षित प्रशिक्षण तथा कार्यशालाहरू सञ्चालन गरिने योजना रहेको छ।
डबली सञ्चालनका लागि गाउँपालिकाको संयोजकत्वमा सरोकारवाला निकाय तथा संस्कृतिविद्हरू सम्मिलित सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिनेछ। उक्त समितिले दैनिक, मासिक र वार्षिक कार्यतालिका तयार गरी विभिन्न राष्ट्रिय पर्व तथा चाडपर्वका अवसरमा विशेष कार्यक्रम आयोजना गर्नेछ। कलाकार तथा समूह छनोटमा दक्षता र मौलिकतालाई प्राथमिकता दिइनेछ भने स्थानीय कलाकारलाई विशेष प्राथमिकता दिइने उपाध्यक्ष लालबहादुर थापाले जानकारी दिनुभयो।
पूर्वाधार व्यवस्थापन अन्तर्गत ध्वनि, प्रकाश, सुरक्षा, शौचालय र खानेपानी लगायतका आवश्यक सुविधाको प्रबन्ध गाउँपालिकाले गर्नेछ। साथै डबलीको संरक्षण, सरसफाइ, मर्मतसम्भार र कार्यक्रम सञ्चालनको सम्पूर्ण जिम्मेवारी पनि गाउँपालिकाले नै वहन गर्नेछ।
वित्तीय व्यवस्थापनतर्फ, डबली प्रयोगबाट प्राप्त हुने आम्दानीको ४० प्रतिशत रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ भने बाँकी ६० प्रतिशत रकम डबलीकै सञ्चालन तथा व्यवस्थापनमा खर्च गरिने प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो। आर्थिक वर्षको अन्त्यमा सार्वजनिक लेखापरीक्षण गरी प्रतिवेदन पेश गर्ने व्यवस्था समेत गरिएको छ।
प्रदेश सचिव नारद गौतम र गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठबीच हस्ताक्षर भएको सम्झौता २०९२ साल कात्तिकसम्म कायम रहने जनाइएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत प्रदेशको पहिचान मजबुत बनाउनेमा जोड दिँदै स्थानीय तहसँगको सहकार्यले विकासलाई दिगो र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपानेले नुवाकोट क्षेत्रलाई प्रदेशकै उत्कृष्ट सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस हस्तान्तरणसँगै तिनाउ गाउँपालिकाले सांस्कृतिक सम्पदा व्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी पाएको छ भने नुवाकोट क्षेत्रलाई सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार भएको विश्वास गरिएको छ।








