पाल्पा । जिल्लाका स्थानीय तह, सुरक्षा निकाय तथा विकाससँग सम्बन्धित सरकारी कार्यालयबीच आपसी समन्वय, सहकार्य र प्रभावकारी सेवा प्रवाहलाई थप मजबुत बनाउने उद्देश्यले पाल्पाको तिनाउँ गाउँपालिकामा समन्वयात्मक बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा तथा तिनाउँ गाउँपालिकाको व्यवस्थापनमा सम्पन्न बैठकले जिल्लाका आठ गाउँपालिका र दुई नगरपालिकाबीच असल अभ्यास, अनुभव र सिकाइ आदानप्रदान गर्ने नयाँ थालनीसमेत गरेको छ।
बैठकमा अन्तरपालिका सम्बन्ध, स्थानीय तहले निर्माण गर्नुपर्ने कानुन तथा कानुन निर्माणका क्रममा देखिएका व्यावहारिक समस्या, जिल्लाभित्र सञ्चालित विकास निर्माणका आयोजना, सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, सुशासन, विपद् व्यवस्थापन र स्थानीय तह तथा सरकारी निकायबीचको अन्तरसम्बन्धलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।



जिल्लामा सञ्चालित विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्ने, कामलाई पारदर्शी र गुणस्तरीय बनाउने तथा आयोजना कार्यान्वयनका क्रममा देखिने अन्तरनिकायगत समस्या समाधान गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको विषय बैठकमा उठाइएको थियो। त्यस्तै, सरकारी निकायबीच सूचना तथा तथ्याङ्कको नियमित आदानप्रदान, स्थानीय तहमा देखिएका प्रशासनिक तथा प्राविधिक समस्या समाधान र नागरिकले सहज रूपमा सार्वजनिक सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
बैठकको महत्वपूर्ण पक्षका रूपमा पाल्पाका १० वटै स्थानीय तहबीच असल अभ्यास आदानप्रदान गर्ने विषयलाई प्राथमिकता दिइएको थियो। कार्यक्रममा विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले आ–आफ्नो स्थानीय तहमा भएका नवीनतम अभ्यास, फरक पहिचानका काम, विकास निर्माणका उपलब्धि, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन र कृषि क्षेत्रको विकासका लागि सञ्चालन गरिएका कार्यक्रमबारे प्रस्तुतीकरण गरेका थिए। एक पालिकाले गरेका सफल अभ्यासबाट अर्को पालिकाले सिक्ने र सम्भव भएका कार्यक्रमलाई आ–आफ्नो क्षेत्रमा लागू गर्ने उद्देश्यले यस्तो अभ्यासको थालनी गरिएको हो।
कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी सम्हालेको तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले छिमेकी स्थानीय तहबीच नदीजन्य पदार्थको व्यवस्थापनदेखि विकास निर्माणका आयोजनासम्म विभिन्न अन्योल, समस्या र चुनौती रहने गरेको बताउनुभयो। यस्ता विषयलाई आपसी छलफल र समन्वयबाट समाधान गर्नुपर्ने उल्लेख गर्दै उहाँले अन्तरपालिका सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
नेपाल पत्रकार महासंघ पाल्पाका सभापति कमल तिमिल्सेनाले स्थानीय तहबीच असल अभ्यास र अनुभव आदानप्रदान गर्ने अभियानको सुरुवात सकारात्मक रहेको बताउनुभयो। स्थानीय सरकारले गरेका राम्रा काम, उपलब्धि र नागरिकका लागि सञ्चालन गरेका कार्यक्रमलाई पत्रकार महासंघसँगको सहकार्यमा पुस्तिका (बुकलेट) तयार गरी सार्वजनिक गर्न सके नागरिकले स्थानीय सरकारका कामबारे थप जानकारी पाउने उहाँको भनाइ थियो। स्थानीय तहका सकारात्मक कामको अभिलेखीकरण र प्रचारप्रसारले अन्य पालिकालाई समेत सिक्ने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो।
पाल्पाका प्रहरी प्रमुखले जिल्लामा शान्ति सुरक्षा कायम राख्न स्थानीय तह र सुरक्षा निकायबीच निरन्तर समन्वय हुनुपर्नेमा जोड दिनुभयो। बालविवाह न्यूनीकरण, अपराध नियन्त्रण, विपद्जन्य घटनाको जोखिम न्यूनीकरण तथा आवश्यक स्थानमा सीसी क्यामेरा जडानलगायतका विषयमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। जिल्लामा विपद् आइपर्दा तत्काल उद्धार तथा राहत उपलब्ध गराउन आवश्यक जनशक्ति, उद्धार सामग्री र राहत व्यवस्थापनमा स्थानीय तह तथा सुरक्षा निकायबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
बैठकमा डिभिजन वन कार्यालय, सडक डिभिजन कार्यालय तथा भूमि सम्बन्धी कार्यालयका प्रतिनिधिहरूले स्थानीय तहका प्रमुखहरूसँग वन व्यवस्थापन, सडक निर्माण, जग्गा तथा भूमि सम्बन्धी विषयमा विभिन्न प्रश्न, जिज्ञासा र समस्या राखेका थिए। सम्बन्धित कार्यालय र स्थानीय तहबीच प्रत्यक्ष छलफल हुँदा कामका क्रममा देखिएका समस्या पहिचान गर्न तथा समाधानका उपाय खोज्न सहज भएको सहभागीहरूको भनाइ थियो।
त्यसैगरी, विकास निर्माणका आयोजना कार्यान्वयनमा देखिने प्राविधिक तथा प्रशासनिक जटिलता, सार्वजनिक सम्पत्तिको संरक्षण, प्राकृतिक स्रोतसाधनको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण र सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने विषयमा समेत बैठकमा छलफल भएको थियो।
घुम्ती बैठकको अवधारणाअनुसार सम्पन्न कार्यक्रमले पाल्पाका स्थानीय तहबीच नियमित संवाद, अनुभव आदानप्रदान र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंक खनालले स्थानीय तहका असल अभ्यास, उपलब्धि र सिकाइलाई एकअर्कासँग जोड्ने तथा गाउँपालिका र नगरपालिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले बैठक आयोजना गरिएको बताउनुभयो।
उहाँले स्थानीय तहमा देखिएका समस्या, चुनौती र उपलब्धिलाई प्रत्यक्ष रूपमा बुझ्न यस्ता बैठक प्रभावकारी हुने उल्लेख गर्दै जिल्लाको समग्र विकासका लागि स्थानीय तह, सरकारी कार्यालय र सुरक्षा निकायबीच समन्वय अपरिहार्य रहेको बताउनुभयो। बैठकमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि यस्ता छलफल र अनुभव आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पाल्पाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित सुरक्षा निकायका कार्यालय प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि तथा विकाससँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
पाल्पाका १० वटै स्थानीय तहबीच असल अभ्यासको आदानप्रदान, समस्या समाधानमा साझा पहल र सरकारी निकायबीचको सहकार्यलाई संस्थागत गर्ने उद्देश्यले सुरु भएको यो घुम्ती बैठकले जिल्लाको समग्र विकास, सुशासन र प्रभावकारी सार्वजनिक सेवा प्रवाहमा नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।









