पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। रैनादेवी छहरा–५ स्थित कटौजेपानी खेलमैदानमा सुरु भएको प्रतियोगितामा पालिकाभरिका विद्यालयका ३२४ जना विद्यार्थी खेलाडी सहभागी छन्।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपालले राष्ट्रपति रनिङ शिल्डलाई केवल खेल प्रतियोगिता नभई पालिकाको प्रशासनिक दक्षता, समन्वय र अनुशासनको प्रतिविम्बका रूपमा लिनुपर्ने बताए।खेलकुद आयोजना सफल हुनु खेलाडीको क्षमतामा मात्र निर्भर हुँदैन, त्यसको मूल आधार सक्षम प्रशासनिक व्यवस्थापन हो, रणपालले भने, समयपालन, निष्पक्ष निर्णय, सुरक्षाको व्यवस्था र मर्यादित सञ्चालन नै स्थानीय सरकारको वास्तविक पहिचान हो।



उनका अनुसार विद्यालयस्तरमै खेलाडीको विवरण व्यवस्थापन, प्रतियोगिताको पारदर्शी तालिका, निर्णायक चयन र पुरस्कार वितरणसम्मको प्रक्रिया व्यवस्थित हुन सके मात्र यस्ता प्रतियोगिताले दीर्घकालीन परिणाम दिन सक्छन्। रणपालले खेलाडीलाई मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि सकारात्मक आचरण देखाउन आग्रह गर्दै त्यसले भविष्यमा राष्ट्रको प्रतिनिधित्व गर्न सक्ने आधार तयार गर्ने बताए।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रुकमांगत भट्टराईले खेलकुदलाई केवल पदक जित्ने प्रतिस्पर्धामा सीमित नगर्न आग्रह गरे। उनले खेलमैदानलाई अनुशासन, संघर्ष र आत्मविश्वास निर्माणको विद्यालयका रूपमा लिनुपर्ने उल्लेख गर्दै भने,हार र जित खेलको स्वाभाविक पाटो हो। तर हारबाट सिक्ने क्षमता राख्न सक्ने खेलाडी नै भोलि सफल र जिम्मेवार नागरिक बन्छ। आजको अभ्यासले नै भोलि पालिकाको होइन, देशकै पहिचान बोकेका खेलाडी जन्माउन सक्छ।
अध्यक्ष भट्टराईले राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि समान अवसर प्रदान गरेको उल्लेख गर्दै खेलकुद विकासमा पालिकाको लगानी निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
गाउँपालिका उपाध्यक्ष युवराज थापाले खेलकुदमा अनुशासन र मेहनत अनिवार्य रहेको बताए। अनुशासनविना प्रतिभा दीर्घकालीन रूपमा टिक्न सक्दैन,” उनले भने, “मैदानभित्र र बाहिर देखिने आचरणले नै खेलाडीको वास्तविक मूल्यांकन हुन्छ।
सामाजिक विकास समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष प्रदिप पौडेलले राष्ट्रपति रनिङ शिल्डले विद्यालयस्तरमै स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गरेको बताए। उनका अनुसार प्रतियोगिताले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै नेतृत्व क्षमता र विद्यालयको पहिचान विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
प्रतियोगिताको पहिलो दिन भलिबल र कबडीका खेलहरू सम्पन्न भएका छन्। शिक्षा शाखा प्रमुख तेज कुमालले प्रतियोगिता पुस १६ गतेसम्म सञ्चालन हुने जानकारी दिए। प्रतियोगितामा वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक, विद्यार्थी, कर्मचारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको छ।
राष्ट्रपति रनिङ शिल्डमार्फत स्थानीय तहमा खेलकुद विकाससँगै प्रशासनिक सुशासन, पारदर्शिता र समन्वय क्षमतालाई व्यवहारमा उतार्ने लक्ष्य लिइएको शिक्षा शाखा प्रमुख तेज कुमालले बताए।
प्रतियोगीता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपालको स्वागत मन्तव्य, सामाजिक विकास समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष प्रदिप पौडेलको अध्यक्षता, र शिक्षा शाखा प्रमुख तेज कुमालको सञ्चालनमा सम्पन्न भएको हो।






