पाल्पा। रिब्दीकोट गाउँपालिकाको आयोजनामा तथा नव किरण नेपाल पाल्पाको सहजीकरणमा सञ्चालित “अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रम” आज रिब्दीकोट गाउँपालिका वडा नं. २ स्थित आदर्श माध्यमिक विद्यालय, लघुवामा सभ्य, भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाले शिक्षा क्षेत्रमा दीगो सुधार ल्याउन विद्यालय स्तरमै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले केवल भौतिक पूर्वाधार निर्माणले मात्र शिक्षाको गुणस्तर वृद्धि नहुने उल्लेख गर्दै अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र समुदायबीचको सक्रिय सहकार्यबाट मात्रै वास्तविक शैक्षिक सुधार सम्भव हुने धारणा राख्नुभयो।
विद्यार्थीको समग्र विकासमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै अभिभावकहरू आफ्ना बालबालिकाको पठनपाठन, व्यवहार, अनुशासन तथा विद्यालय गतिविधिप्रति निरन्तर चासो राख्नुपर्ने आवश्यकता भुसाले औँल्याउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत भुसालले योजनाबद्ध ढंगले यस्ता कार्यक्रमलाई गाउँपालिकाका सबै वडाहरूमा विस्तार गर्न सके शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको नियमितता वृद्धि तथा विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षा सुधारका लागि स्थानीय तह सदैव प्रतिबद्ध रहेको समेत बताउनुभयो।
कार्यक्रम रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। मन्तव्य राख्दै उपाध्यक्ष अधिकारीज्यूले अभिभावक शिक्षा कार्यक्रमले विद्यालयमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिबीच रहेको दूरी कम गरी आपसी समझदारी, विश्वास र सहकार्यको नयाँ वातावरण सिर्जना हुने बताउनुभयो।
उहाँले गुणस्तरीय शिक्षाका लागि विद्यालय, अभिभावक, शिक्षक र समुदायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले शिक्षालाई व्यवहारिक, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। साथै, यही अभियानलाई निरन्तरता दिँदै भोलि रिब्दीकोट गाउँपालिका वडा नं. ५ स्थित भवानी माध्यमिक विद्यालय, कुसुमखोलामा समेत अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष ओमप्रसाद पोखरेलज्यू, निर्वतमान वडा अध्यक्ष रामचन्द्र नेपाल,वडा सदस्यहरु , विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक संघका प्रतिनिधिहरू, शिक्षकहरू तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले विद्यार्थीको शैक्षिक उपलब्धि र सर्वाङ्गीण विकासमा शिक्षक, अभिभावक, विद्यालय, समाज तथा सामाजिक वातावरणको प्रत्यक्ष प्रभाव रहने भएकाले सबै पक्ष जिम्मेवार, संवेदनशील र सकारात्मक बन्नुपर्नेमा जोड दिएका थिए। अभिभावकहरूले समय–समयमा विद्यालयमा पुगेर आफ्ना बालबालिकाको अध्ययन अवस्था, व्यवहार तथा प्रगतिबारे जानकारी लिनुपर्ने आवश्यकता समेत औँल्याइएको थियो।



कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवालासहित करिब ९० जनाको सहभागिता रहेको थियो। गाउँपालिकाले शिक्षा क्षेत्रको सुधार, अभिभावक सचेतना अभिवृद्धि तथा विद्यालय र समुदायबीच सहकार्य विस्तार गर्न आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।










