पाल्पा, २७ भदौ । तानसेन बहुमुखी क्याम्पस पाल्पाले आफ्नो ३७ औँ वार्षिक दिवस तथा क्याम्पस सभा शनिबार सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन पारित गर्दै आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट तथा कार्यक्रमसमेत अनुमोदन गरेको छ ।क्याम्पस सञ्चालन समितिका कार्यवाहक अध्यक्ष भेषराज नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
सभामा क्याम्पस प्रमुख पुष्करराज रेग्मीले आर्थिक वर्ष २०८२/८३ को ८१ लाख ९५ हजार ५ सय १४ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत आर्थिक प्रतिवेदनसँगै आगामी वर्ष सञ्चालन गरिने कार्यक्रम तथा बजेट सभासद्हरूबाट पारित गरिएको हो । वार्षिक दिवसका अवसरमा क्याम्पसका संस्थापक रामेश्वर बजिमय, पूर्व क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली तथा सहायक क्याम्पस प्रमुख अरुण ज्ञवालीलाई सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको क्याम्पस प्रमुख रेग्मीले जानकारी दिनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि नगरपालिकाले नीति र विधिसम्मत रूपमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षाका माध्यमबाट तानसेन बहुमुखी क्याम्पसले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै समयअनुकूल शैक्षिक गतिविधि सञ्चालनमा जोड दिन आग्रह गर्नुभयो ।



कार्यक्रममा पब्लिक क्याम्पस संघ पाल्पाका अध्यक्ष मुरारी काफ्ले, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि दामोदर घिमिरे, पूर्व क्याम्पस प्रमुख एवं संस्थापक सदस्य रामेश्वर बजिमय तथा सम्मानित व्यक्तित्व पूर्व क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले सामुदायिक क्याम्पसको विकासमा समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँहरूले क्याम्पसको दीर्घकालीन विकासका लागि साझा दृष्टिकोण र नीतिगत योजनासहित सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी माण्डव्य बहुमुखी क्याम्पस पाल्पाका प्रमुख रुद्र बस्याल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीरमान सिंह, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी, स्वतन्त्र पत्रकार संघ पाल्पाका उपाध्यक्ष एवं स्थानीय चन्दादाता भविन्द्र गौतम, क्याम्पसका उपप्राध्यापक रामप्रसाद ढकाल तथा विद्यार्थी प्रतिनिधि अनुमा सारुलगायतले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि र संस्थागत उन्नतिका लागि विभिन्न सुझावसहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
क्याम्पस प्रमुख एवं क्याम्पस सञ्चालन समितिका सदस्य–सचिव पुष्करराज रेग्मीले सभामा विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रस्तावमाथि छलफलपछि सभासद्हरूबाट निर्णयार्थ पारित गरिएको हो ।
कार्यक्रममा क्याम्पसका उपप्राध्यापक, सभासद्, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । वार्षिक दिवस तथा क्याम्पस सभा सहायक क्याम्पस प्रमुख अरुण ज्ञवालीले सञ्चालन गर्नुभएको थियो ।









