पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले हालै भएको दुःखद सवारी दुर्घटनामा ज्यान गुमाएका तीन जनाका परिवारलाई राहतस्वरूप जनही २५ हजार रुपैयाँ प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई स्वयं पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गर्नुभयो । उहाँसँगै वडा नं ४ का अध्यक्ष गोविन्द बहादुर रायमाझी, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयबासीहरू पनि उपस्थित थिए ।
अध्यक्ष भट्टराईले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नुभयो, “दुर्घटनाले तीन अमूल्य जीवन गुमाएका छौं, जसले सिंगो गाउँपालिकालाई स्तब्ध बनाएको छ। पीडित परिवारको पीडा बुझ्न र सान्त्वना दिन हामी यहाँ आएका हौं। गाउँपालिका हरेक नागरिकको सुख-दुःखमा साथ दिन सदैव तयार छ।”



गाउँपालिकाले राहत वितरणसँगै मृतकहरूको आत्माको चिरशान्तिका लागि श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । राहत वितरणको क्रममा अध्यक्ष भट्टराईले स्थानीय सरकार नागरिकका समस्या, पीडा र आवश्यकतामा सधैं अग्रपंक्तिमा रहनुपर्नेमा जोड दिनुभयो । उहाँले थप गर्नुभयो, “सडक सुरक्षालाई बलियो बनाउन र यस्तो दुर्घटना दोहोरिन नदिने गरी गाउँपालिकाले आवश्यक योजना अघि सार्नेछ।”
कात्तिक १२ गते रैनादेवी छहरा गाउँपालिकाको वडा नं ४ स्थित छहरा–मेहलढाप सडक खण्डमा इभी (EV) सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा रैनादेवी छहरा–४ का ३४ वर्षीय कमल रायमाझी, वडा नं २ सोमादीका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी, र वडा नं ४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेका छन् । दुर्घटनामा परेका सबैजना स्थानीय समुदायका सक्रिय सदस्य भएकोले गाउँभर शोकको वातावरण छाएको छ ।
गाउँपालिकाले आगामी बजेटमा उक्त सडक खण्डको मर्मत र स्तरोन्नतिका लागि छुट्टै योजना अघि सार्ने तयारी गरेको छ । साथै, गाउँपालिकाले सवारी सुरक्षासम्बन्धी जनचेतना अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ, जसबाट स्थानीय चालकहरूलाई सवारी सञ्चालनका सावधानी र सुरक्षाबारे जानकारी दिने लक्ष्य लिइएको छ ।
अध्यक्ष भट्टराईले घटनामा ज्यान गुमाएका तीन जना मेहनती र समाजसेवी नागरिक रहेको स्मरण गर्दै भन्नुभयो, “उनीहरू हाम्रा समुदायका बलिया आधार थिए। उनीहरूको अभावले गाउँलाई ठूलो क्षति पुगेको छ।”
गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय समाजसेवी र सरोकारवाला निकायले पनि दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गाउँमा सुरक्षित यातायात व्यवस्था सुनिश्चित गर्न एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।









