पाल्पा ।बगनासकाली वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बगनासकाली–८ बराङ्दीको सातौं वार्षिक साधारणसभा सोमबार सम्पन्न भयो ।सोही अवसरमा सहकारीका अध्यक्ष कृष्ण भुसालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कूल चुक्ता शेयर पूँजी ८५ लाख ८६ हजार रुपैंया र कर्जा लगानी ५ करोड, ५९ लाख १० हजार ९ सय ९५ रहेको जानकारी दिनुभयो । यस्तैगरी सहकारीको जगेडा पूँजी ४४ लाख २६ हजार ८ सय २१ रुपैँया र कूल बचत ५ करोड ४३ लाख ७२ हजार ८२ रुपैया रहेको उहाँले जानकारी दिनुभयो । संस्थाको आ.व.२०८१।८२ मा कुल कारोबार ९ करोड ९२ लाख ५३ हजार ८ सय ८६ गरेको र शुद्द नाफा २१ लाख ९५ हजार ५० रुपैंया रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपती पाण्डेले साधारण सभाको उद्घाटन गर्नुभएको हो । उहाँले सहकारीको समय समयमा अनुगमन गर्नुपर्ने र शेयरसदस्य मैत्री कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष कृष्ण भुसाल र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा समिति सदस्य रविलाल तिमिल्सिनाले प्रस्तुत गरेकोमा सर्वसम्मत पारित भयो ।




कार्यक्रममा संस्थाका सल्लाहकार गणेशप्रसाद बस्यालले सहकारी संस्थाको संक्षिप्त परिचयसहित सहकारीको मूल्य मान्यता अनुसार अगाडि बढ्न सुझाव दिनुभयो । बगनासकाली ८ का वडा अध्यक्ष मोतीलाल बस्याल, वडा नं. ९ का अध्यक्ष ठानेश्वर तिमिल्सिना, जेष्ठ नगारिक टिकाराम बस्याल, चन्द्र मा.वि.का व्यवस्थापन समिति अध्यक्ष लिलाधर अर्याल लगायतले बोल्नुभएको थियो । सहभागी सदस्यहरूले सुझाव राख्दै वर्तमान अवस्थामा सहकारीमा देखा परेका समस्या मध्यनजर गर्दै सञ्चालकहरूले आफ्नो काम, कर्तव्य र दायित्व जिम्मेवारपूर्वक निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।






