काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका मन्त्रीहरूलाई राजीनामा दिनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। उनका निकट स्रोतका अनुसार, जेन–जी प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसका केही मन्त्रीहरूको सरकारमा बस्नु उपयुक्त नहुने ठहर गर्दै कोइरालाले यस्तो निर्णय लिएका हुन्।
सूत्रका अनुसार, कोइरालाले मन्त्री तेजुलाल चौधरी, बद्री पाण्डे, रामनाथ अधिकारी लगायतलाई राजीनामा दिन निर्देशन दिएका छन्। त्यस्तै, पार्टीका वरिष्ठ नेता प्रदीप पौडेल पनि राजीनामा दिने सम्भावना रहेको बताइएको छ।



कोइराला हाल एक साताका लागि चीन भ्रमणमा रहेका थिए। तर, पार्टीभित्रको स्थिति हेर्दै उनले आफ्नो भ्रमण छोट्याएर देश फर्कन लागेका छन्।
यसअघि सोमबार, नेपाली कांग्रेसका नेता रमेश लेखकले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। लेखकले आफूले राजीनामा दिने निर्णय नैतिकताका आधारमा लिएको बताएका थिए।
जेन–जी पुस्ताको प्रदर्शनका क्रममा घाइते भएका नागरिकमध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ भने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन सयभन्दा बढी नागरिक घाइते भएका छन्। प्रदर्शनका कारण शहरका विभिन्न भागमा सडक र बजारमा तनावपूर्ण स्थिति देखिएको छ।
पार्टी नेताहरूको राजीनामा र प्रदर्शनले सरकारको स्थायित्वमा प्रभाव पर्न सक्ने अनुमान गरिएको छ। राजनीतिक विश्लेषकहरूले आगामी दिनमा सरकार र पार्टीको रणनीतिमा परिवर्तन आउन सक्ने बताएका छन्।









