काठमाडौँ । देशभर चर्किएको जेन–जी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। निरन्तर बढिरहेको आन्दोलन, नेतामाथि भएका आक्रमण र आगजनी घटनाले मुलुकलाई अस्थिर बनाइरहेको अवस्थामा ओलीले पदत्यागको घोषणा गरेका हुन्।
प्रधानमन्त्री ओलीले सोमबार साँझ मन्त्रिपरिषद बैठकपछि आफ्ना निकटस्थसँग छलफल गर्दै राजीनामाको निर्णय सार्वजनिक गरेका हुन्। उनले जनआन्दोलनलाई शान्तिपूर्ण रुपमा सम्बोधन गर्न र राजनीतिक संकटलाई थप गहिरिन नदिन राजीनामा अपरिहार्य भएको बताए।



यसअघि आन्दोलनलाई नियन्त्रण गर्न प्रहरी परिचालन, संवाद प्रक्रिया र विभिन्न राजनीतिक पहल भए तापनि आन्दोलन झन् उग्र बन्दै गएको थियो। राजधानीसहितका प्रमुख शहरमा प्रदर्शनकारीहरूको भीड बढ्दै गयो भने पार्टी कार्यालय, नेताका निवास र सिंहदरबारसम्म प्रदर्शनकारी प्रवेश गरेपछि अवस्था नियन्त्रणभन्दा बाहिर गएको थियो।
प्रधानमन्त्री ओलीको राजीनामापछि मुलुकको राजनीतिमा नयाँ तरंग आएको छ। प्रमुख प्रतिपक्षी दलहरूले उनको निर्णयलाई जनआवाजको सम्मान भन्दै स्वागत गरेका छन् भने नयाँ राजनीतिक समीकरणको तयारी सुरु भएको छ।
राजनीतिक विश्लेषकहरूले ओलीको राजीनामा तत्कालीन संकटलाई केही सहज बनाउने भए पनि मुलुकलाई स्थायित्व दिन दलहरूबीच सहकार्य र विश्वास निर्माण आवश्यक हुने टिप्पणी गरेका छन्।









